August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत, ९ वटा शिर्षकमा बजेट विनियोजन

455

काठमाडौं, वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । विहीबार श्रम मन्त्रालयमा बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७९। ०८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी १ अर्ब ५८ करोड १६ लाखको बजेट स्वीकृत गरेको छ । बोर्डले विशेषगरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोज गरेको छ ।

बोर्डले अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण कार्यक्रम, अलपत्र कामदारहरूको उद्वार तथा राहत कार्यक्रम, निशुल्क सीप तालिम, सुरक्षित, मर्यादित एवं लाभ दायी वैदेशिक रोजगार सम्वन्धी अभिमुखीकरण, सुरक्षित, मर्यादित एवं लाभ दायी वैदेशिक रोजगारी सम्वन्धी सूचना तथा परामर्श, पुनः एकीकरण कार्यक्रम, नेपाली श्रमिकहरुको सामाजिक तथा स्वास्थ्य सुरक्षा कार्यक्रम, प्रशिक्षण, अध्ययन तथा अनुसन्धान र सरोकारवालाहरुसँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धि गरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले यो विषयमा विस्तृत जानकारी केही दिनमा बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउनका लागि बोर्डले आगामी दिनमा विषेश काम गर्ने बताउनु भएको छ । उहाँले बोर्डबाट प्रवाह हुने सेवालाई सरल, सहज र प्रविधिमैत्री बनाइ सुशासन प्रवर्द्धन गर्नका लागि पहल गर्ने बताउनु भयो । अहिले पनि बैदेशिक रोजगारीमा गएका श्रमिकहरुले थुप्रै समस्या भोगि रहेकाले उनीहरुका समस्यालाई पनि बोर्डले सम्बोधन गर्ने गरी काम गर्न बोर्डका कर्मचारीलाई मन्त्री कुँवरले आग्रह गर्नु भएको छ ।

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वार्डको गठन भएको हो । बोर्डको नियमित कार्य संचालन बैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आइरहेको छ ।

बोर्डको अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहनु हुन्छ भने, बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वार्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ ।