विराटनगर । प्रदेश १ को आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेपछि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सो प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले संसदमा निर्णयार्थ पेश गरेका थिए ।
प्रदेश १ संसदको पहिलो कार्यकालको यो अन्तिम बजेट गठबन्धन सरकारले ल्याएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट असार १ मा संसदमा प्रस्तुत गरेको थियो । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।
