November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

७४.९३ अंकले बढ्यो नेप्से परिसूचक

2.1K

काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले वृद्धि भएको छ। साताको आइतबार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो। तर, बिहीबार भने नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर परिसूचक २ हजार बिन्दुमाथि पुगेको छ।

बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन नेप्से १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो।

Advertisement

नेप्सेका १३ उपसमूहको परिसूचक सबैमा हरियाली छाएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सवैभन्दा बढी ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशत, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट्स, हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता वरुण हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य भने घटेको छ। कारोबार रकमका आधारमा ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।