काठमाडौँ । सरकारले इन्धनमा अचाक्ली मूल्य बढाएको भन्दै निर्माण व्यवसायीले देशभर चालु ५ हजारभन्दा बढी आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि हुने क्रम नरोकिँदा काम गर्न सक्ने अवस्था नभएकाले निर्माण रोक्नुपरेको व्यवसायीको भनाइ छ । पेट्रोलमा एकैपटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढेपछि रुग्ण अवस्थामा रहेको निर्माण क्षेत्र थप आक्रान्त बनेको नेपाल निर्माण व्यवसायी महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले सरकारलाई यसरी चेतावनी दिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनीहरूले पटकपटक यस्ता चेतावनी दिएर काम रोक्दै आएका छन्, जसकारण जहिले पनि विकास निर्माणका काम ढिलासुस्ती नै हुने गरेका छन् । महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण राष्ट्रिय गौरवका आयोजना एवं अति जरुरीका निर्माण परियोजनाको काम ठप्प पार्नुपर्ने अवस्थामा पुगेको जनाइएको छ ।