काठमाडौं । भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन् ।
धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६को धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जामा लिँदै आपसमा वितरण गरेका हुन् ।
भारतबाट भन्सार छली गरेर ल्याइएको र राजस्व विभागले कब्जामा लिएर काठमाडौं लैजान लागेको भन्दै किसानले कब्जामा लिएका थिए ।
दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूले किसानलाई मलको सूचना लिक गराएका थिए। लगत्तै करिब ५०० जति किसान जम्मा भएर राजस्व विभागका कर्मचारीकै सामुन्ने मल लिएर हिँडेका हुन् ।
राजस्व अनुसन्धान विभागका एक कर्मचारीका अनुसार विभागले छापा मार्ने सूचना पाएपछि व्यापारीहरुले स्थानीय किसानलाई खबर गरेका थिए । त्यसपछि करिब ५ सय स्थानीयले पृथ्वी राजमार्गको बीच सडकमै मलको ट्रक नै कब्जामा लिएर खोसेका हुन् ।