August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

कपोलकल्पित कथा बुनेर सरकारलाई बदनाम गर्न खोजियो : अर्थमन्त्री

330

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् ।

‘देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरे भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्धतीलाई अक्षरशः कार्यान्वयन गरिएको छ । यस विषयलाई राजनीतिक एजेण्डा बनाउनु गलत छ । केही उपाय नपाएपछि मलाई देखाएर समग्र सरकार र गठबन्धनमाथि प्रहार गर्न खोजिएको हो’, अर्थमन्त्रीले भने ।

अर्थमन्त्री शर्माले आज राष्ट्रिय समाचार समितिसँग विशेष कुराकानी गर्दै उनले अर्थतन्त्रको समग्र उन्नयनलाई केन्द्रमा राखेर काम गर्दा अपराध ठानिन्छ भने त्यसलाई आफूले थप टिप्पणी नगर्ने बताए ।

Advertisement

आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि केहीलाई छटपटी भएको उनको भनाइ छ । हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उनले गम्भीर आपत्ती जनाए ।

बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको स्पष्ट पार्दै उनले अर्थसचिव, राजश्व सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सम्बन्धित विभागका प्रमुख सम्मिलित समूहले बजेट तयार पारेको र त्यसमा नीतिगत मार्गदर्शन मात्रै आफूले गरेको अर्थमन्त्री शर्माले बताए ।

बजेट निर्माणको इतिहासमा पहिलो पटक सबै वर्ग, क्षेत्र, समूह तथा सरोकारवालाको चासो र चिन्तालाई छलफल तथा संवादका माध्यमबाट समेटिएको उल्लेख गर्दै उनले कुनै पनि बहाना नपाएपछि करको दर हेरफेर गरेको तथा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने जस्ता कथा बुनिएको बताए ।

उनले भने, ‘कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइनँ, मन्त्री निवासमा थिए । मन्त्री निवासको सुरक्षाकर्मीसँग गएर बुझ्नुस् ।’
उनले सरकार र गठबन्धनप्रति लाञ्छना लगाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्र गरिएको र सरकारलाई हिलो छ्याप्न खोजिएको टिप्पणी गरे ।