November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद्‌मा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग

2.2K

काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबारको संसद बैठक सुरु भएलगत्तै सुरुमै समय माग गरेर बोलेका नेता पाण्डेले अर्थमन्त्री शर्माले पारदरर्शी काम गर्न नसकेकोले पदमा रहिरहन नमिल्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

शर्माले बजेट प्रस्तुत गर्ने दिनको अघिल्लो दिन केही व्यक्तिले बजेट काँटछाँट गरेको आरोपलाई संसद् भवनमा आएर खण्डन गर्न नसक्नु आपत्तिजनक रहेको  पाण्डेको आरोप छ।

प्रतिनिधिसभामा  पाण्डेले अर्थ मन्त्रालयले बजेट बनाउने अभ्यास र तरिकाबारे स्पष्ट  पार्दै उनले भने, ‘मन्त्रालयमा अभ्यास के छ भने बजेट संसदमा प्रस्तुत गर्नुपूर्व मन्त्रालयमा कसैलाई प्रवेश गर्न पाइँदैन।  त्यहाँ मन्त्रीको बाहेक मन्त्रालयका सबै कर्मचारीका फोनहरू दराजमा राखिने गरिन्छ।’

Advertisement

मन्त्रालयका कर्मचारीलाई बाहिरबाट  ल्याइएका मान्छेले भनेअनुसार  बजेट काँटछाँट गर्नुस् भन्ने शर्माको निर्देशन ज्यादै आपत्तिजनक रहेको पाण्डेले बताए। यति धेरै आरोप लाग्दै गर्दा शर्मा पदमा बसिरहन लायक नभएको टिप्पणी गरे। 

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयगत बजेटबारे जारी छलफल चलिरहेको छ।