August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

१० करोड रूपैयाँ राजस्व छलीमा एक भारतीयसहित ४ जनाविरुद्ध मुद्दा

455

काठमाडौं : राजस्व अनुसन्धान विभागले १० करोड रूपैयाँ राजस्व छल्ने एक भारतीयसहित ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले अर्घाखाँची छत्रदेव-२  घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट-२ का शंकरप्रसाद आचार्य (न्यू मालिका ढुवानी सेवाका कारोबार हेर्ने व्यक्ति), रुपन्देही सिद्धार्थनगर-१ बेलहियाका रेखा जैसवाल (न्यू मनकामना सप्लायर्सका सञ्चालक) र भारत दिल्ली गान्धीनगर राजगढ कोलोनी घर भई हाल काठमाडौं बस्ने आशिष सिंहविरुद्ध १० करोड ६ लाख ५० हजार ५७४ रूपैयाँ कर छलेको आरोपमा गत शुक्रबार मुद्दा दायर गरेको हो।

रुपन्देही बुटवलको ढुवानी सेवा र सिद्धार्थनगरस्थित सप्लायर्स कम्पनीको प्रोपाइटर तथा कर्मचारीको मिलेमतोमा भारतबाट भन्सार छलेर मालवस्तु नेपाल भित्र्याई काठमाडौं उपत्यका लगायतका ठाउँमा बिक्री गरेको पाइएको विभागले जनाएको छ। उनीहरूले माल वस्तुको सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकरसमेत नतिरी राजस्व चुहावट गरेको ठहर गरी विभागले मुद्दा दायर गरेको हो।

Advertisement

राजस्व छली मुद्दाका प्रतिवादी ४ जनाविरुद्ध १ करोड ३८ लाख ५५ हजार ५३८ रूपैयाँ बिगो कायम गरिएको छ भने कम्पनी सञ्चालक रेखासहित नसिपदिन र आशिषमाथि विभागले ९ करोड २१ लाख ९५ हजार ३६ रूपैयाँ बिगो कायम गरी शतप्रतिशत जरिवाना र कैद सजायको माग गरेको छ।

उनीहरूमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार जरिवानासहित कैद सजाय माग गरिएको विभागले जनाएको छ।