काठमाडौं । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले देशको आर्थिक विकास गर्न कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रदेश नं १ कृषि मन्त्रालयद्वारा विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमासम्बन्धी छलफलमा मन्त्री आङ्बोले विकास र समृद्धिको यात्रा पूरा गर्न कृषिमा परिवर्तन नगरी सम्भव नहुने कुरामा जोड दिए ।
खाद्यान्नजस्ता अन्य वस्तु आयात गर्दा धेरै रकम विदेशिने गरेका कारण मुलुकमा समस्या देखिएको उल्लेख गर्दै मन्त्री आङ्बोले खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
परम्परागत कृषि प्रणालीले उत्पादन र उत्पादकत्व नबढेको उल्लेख गर्दै उनले कृषिमा संलग्न सबैले नवीन प्रविधि र सीपको प्रयोग गर्नुपर्ने धारणा राखे ,
मन्त्री आङ्बोले छलफलमा उठेका महत्वपूर्ण विषयलाई सरकारले अङ्गिकार गर्ने सो अवसरमा जानकारी दिए ।
प्रदेश कृषि मन्त्री झलकबहादुर मगरले विगतको जस्तो खेतीपाती गरेर उत्पादन र उत्पादकत्व नबढेकाले यसमा किसानले रुचिका साथ नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।
परनिर्भरता हटाउन र आत्मनिर्भर बन्न सबै प्रकारको कृषिउपज बढाउनुपर्ने भन्दै मन्त्री मगरले प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।
प्रदेश कृषि सचिव मेघनाथ तिमल्सेनाले खेत बाँझो राखेर आयातलाई रोक्न नसकिने बताए । उनले भने– ‘नवीनतम प्रविधिबाट खेती गर्न सकियो भने उत्पादन बढ्छ र लागत घट्छ ।’
कार्यक्रममा माछापालन, बङ्गुुरपालन, गाईपालन, तरकारी खेती गर्ने, डेरी सञ्चालन गर्ने, चिया उत्पादकलगायत कृषि क्षेत्रका प्रतिनिधिले कृषि क्षेत्रको विकासका विषयमा आ–आफ्ना राय सल्लाह दिएका थिए ।