November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जेठ ७ गते सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

2.4K

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद् अधिवेशन आह्वान गरेकी छन्। 

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। उनले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेका थिए। 

सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने बताए। बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको समेत बताए। 

Advertisement

उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरे। जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए। 

जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको बताए। 

उनले भने, ‘राष्ट्रपतिज्यूबाट बजेट अधिवेशन आह्वान भएपछि जेठ ३ गते ४ बजेको लागि  महासचिवज्यूले सूचना जारी गरिसक्नु भएको छ। प्राविधिक साथीहरुको सहयोगमा भौतिक रुपमा गर्ने तयारीहरु सकिएको छ। उपकरणहरुको टेस्ट गर्ने,हलभित्र मर्मत तथा सरसफाइ गर्ने काम सम्पन्न भइसकेको छ।  सुरक्षा मापदण्ड पहिलाकै अपनाउने योजना रहेको छ।’

कोरोना कम भए पनि मास्क लगाउने, सेनिटाइजर लगाउने यथावत रहेको उनको भनाइ छ। कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रस्ताव गरिसकेको समेत बताए।