February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

ढुवानी भाडा बढाउन ट्रक व्यवसायीले गरे आन्दोलन घोषणा

२०७८ फाल्गुन २१

3.7K

चितवन : ट्रक व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंँगै ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै आज रामनगरमा ट्रक रोकेर आन्दोलनको घोषणा गरेका छन्।सरकारले पटक-पटक डिजेलको मूल्य वृद्धि गरेको तर ६ वर्षदेखि ढुवानी भाडा यथावत्‌ रहेकाले ढुवानी भाडा बढाउन व्यवसायीले माग गरेका हुन्।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत रामनगरमा आज देशभरका ट्रक व्यवसायीहरुले सवारीसाधन रोकेर आन्दोलनसमेत घोषणा गरेका छन्। एक हप्ताभित्र सरकारले ढुवानी भाडा नबढाए देशभरिका ट्रक १० दिन घरमा थन्काएर आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्। त्यति गर्दा पनि माग सम्बोधन नभए देशैभरिका ट्रक सडकमा ल्याएर सबै राजमार्ग बन्द गर्ने र राजमार्गमै अनशन बस्ने धादिङका ट्रक व्यवसायी मनोज केसीले बताए्।

‘अहिलेसम्म भैरहवा र वीरगन्जदेखि काठमाडौंसम्मको १० टनको २५ हजार रूपैयाँ भाडा कायम छ। पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै १० टनको २८ हजार हुनुपर्ने हो,’ केसीले भने। आफूहरुले राज्यको नीति नियमको परिधिभित्रै रहेर ढुवानी सेवा दिएको भन्दै उनले अब राज्यले भाडा नबढाए आफूहरू सरकारको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने केसीको भनाइ थियो।

Advertisement

भारतीय मालवाहक सवारीसाधन भन्सारमा पल्टी नगरी सीधै नेपालको काठमाडौंसहित अन्य सहरमा प्रवेश दिँदा त्यसले नेपाली ढुवानी व्यवसायी ठूलो मारमा परेको नवलपुरका अर्का व्यवसायी गणेशसिंह ठकुरीले बताए। पेट्रोलियम पदार्थको मूल्य बढेको बढेकै गर्ने तर ढुवानी भाडा नबढ्दा आफूहरु व्यवसायबाटै पलायन भएर खाडी जानुपर्ने बाध्यता रहेको उनले बताए। भारतीय मालवाहक ट्रकले क्षमताभन्दा कैयौं बढी सामान बोकेर आउँदा पनि १५ सयको चिट काटेकै भरमा मनलाग्दी गर्ने भारतीय सवारीसाधनलाई राज्यले छुट दिएको गुनासो उनीहरुको छ।