काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मुरारकासहित खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानून उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरुसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोप रहेको छ । अख्तियारले ती उद्योगीसम्वद्ध ९ कम्पनीहरुविरुद्ध समेत मुद्दा चलाएको हो । उनीहरुमाथि एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पारेको दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।
त्यसैगरि अन्यमा युनाइटेड सिमेन्टका नरेश दुगड, मारुती सिमेन्ट लिमिटेडका शरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चन क्वेरिजका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठ रहेका छन् ।