November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बालुवाटार जग्गा प्रकरणका शोभाकान्त ढकाललाई एक अर्ब २० करोड राजश्व छलीको मुद्दा

4.1K

काठमाडाैं । राजश्व अनुसन्धान विभागले आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकालसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको छ। मंगलबार एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो माग गर्दै विभागले ढकालसहित पाँच जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएकाहरूमा सरोज ढकाल, उमाकुमारी ढकाल सान्टु श्रेष्ठ र लेखापरीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोप्राइटर राजेश्वर श्रेष्ठ छन् । जालसाजीयुक्त, नक्कली तथा झूटो मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार पारेर कारोबार शून्य देखाएको अभियोगमा उनीहरूलाई मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । 

अनुसन्धानमा उनीहरूले कारोबार शून्य देखाएर प्रचलित आयकर, मूल्य अभिवृद्धि करलगायत नतिरेको पाइएको पौडेलले बताए । ढकाल बालुवाटारस्थित ललिता निवास प्रकरणमा पनि प्रतिवादी बनाइएका व्यक्ति हुन् । 

Advertisement

ढकालको फर्मले ४२ करोड २६ लाख ७ हजार ३५१ मूल्य अभिवृद्धि कर, आयकर ६८ करोड ४८ लाख २६ हजार ९७ र लाभांश ९ करोड ७५ लाख ८४ हजार ३७६ रुपैयाँ चुहावट गरेको पाइएको पौडेलले जानकारी दिए । 

सबैलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट बिगो, सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको बिगोको शतप्रतिशत जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ। 

राजेश्वर श्रेष्ठलाई मतियारका रूपमा सो बिगोको आधा सजाय माग गरिएको पौडेलले बताए।