काठमाडौँ — भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताएका छन् । सोमबार अर्थसमिति बैठकमा बोल्दै सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बताए ।
‘करिब अढाई अर्ब भुक्तानी हुन सकेको छैन । अर्थ मन्त्रालयले भुक्तानीमा किन ढिलाई गरिरहेको छ बुझ्न सकिएको छैन,’ उनले भने । त्यस्तै, यसअघि खारेज गरिएका विभिन्न सडक डिभिजन कार्यालयहरू पुनर्स्थापना गर्न लागिएको पनि उनले बताए ।
‘केही डिभिजन खारेज गर्ने निर्णय भएको थियो । तर ती खारेज भएपछि ५/६ वटा जिल्लामा सडकको खर्च ठप्प छ,’ उनले भने, ‘काम नै ठप्प भएपछि ती डिभिजन कार्यालय ब्युँताउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं ।’