May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

बर्दिबासदेखि निजगढसम्म रेल्वे लिक बिछ्याउन २४ अर्ब बजेट प्रस्ताव

2.6K

काठमाडौं । रेल विभागले पूर्वपश्चिम रेलमार्गको बर्दिबासदेखि निजगढसम्मको रेलमार्गमा ट्रयाक र स्टेसनसहित पूर्वाधार निर्माण थाल्न प्रस्ताव गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ‘ट्र्याकबेड’को काम सकिन लागेकाले अब रेल सञ्चालन गर्न योग्य हुने गरी रेलमार्ग तयार गर्न प्रस्ताव गरेको हो ।

विभागका महानिर्देशक दीपक भट्टराईले बर्दिबासबाट ३५ किलोमिटर (लालबन्दी)सम्म पहिलो चरणमा काम अघि बढाउन आर्थिक स्रोत जुटाउन पहल भइरहेको बताए । करिब २४ अर्बको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाउन लागिएको उनले बताए ।

‘भौतिक पूर्वाधार मन्त्रालयमा स्रोत सुनिश्चितताका लागि प्रस्ताव पठाइसकेका छौं,’ उनले भने,‘अर्थ मन्त्रालयले स्वीकृति दिएमा अहिले माटो भर्ने र पुल बनाउने काम भइरहेको पूर्व–पश्चिम रेलमार्गको खण्डमा लिक र स्टेसनहरु बनाउँछौं ।’ उनका अनुसार इलेक्ट्रोमेकानिकल र मेकानिकल कामहरु पनि गर्ने गरी बजेट प्रस्ताव गरिएको हो ।

Advertisement

महानिर्देशक भट्टराई निर्माणाधीन खण्डलाई रेल चल्न योग्य तयार गरेमा जयनगरबाट जनकपुर हुँदै यात्रुहरु निजगढसम्म रेलमै आउने अवस्था बन्ने छ । यसले द्रुतमार्गको उपादेयता र महत्व थप बढ्ने तर्क उनको छ ।

भारत सरकारले जयनगरदेखि धनुषाको कुर्तासम्म ब्रोडगेज रेलमार्ग विस्तार गरिसकेको छ । कुर्ताबाट महोत्तरीको बिजलपुरासम्म खण्ड विस्तारको मा पनि भारतले नै गरिरहेको छ ।

बिजलपुराबाट बर्दिबाससम्म करिब १७ किलोमिटर खण्ड विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढिसकेको छ । यो खण्डमा मुआब्जाका लागि दररेट टुंग्याएर वितरणको तयारी भइरहेको छ । विभागले बर्दिबासमा बन्ने रेल्वे स्टेसनको जग्गा अधिग्रहणका लागि पनि दररेट टुंग्याएर अधिग्रहणको प्रक्रिया अघि बढाइरहेको छ ।

बर्दिबासदेखि निजगढसम्मको करिब ७० किलोमिटर खण्ड पूर्व–पश्चिम रेलमार्गमा पर्छ । अब जनकपुरबाट बर्दिवासम्म रेलमा आएका यात्रुलाई निजगढसम्म नै रेलमा आउन सुविधा गरी पूर्वाधार बनाउनुपर्ने विभागको जोड छ ।

‘पूर्व–पश्चिम रेलमार्ग करिब ५० किलोमिटर रेलमार्गको ट्रयाक बेडको काम सकेका छौं,’ महानिर्देशक भट्टराई भन्छन्, ‘२० किलोमटिर खण्डमा पनि धमाधम काम भइरहेको छ । ठूलो लगानीमा निर्माण भएको यो खण्डमा लिक बिछ्याउन सके रेल्वे सञ्जाल विस्तारबाट जनताले पनि ठूलो लाभ पाउने अवस्था बन्छ ।’