July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

दशैँका लागि सरकारले तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने

2K

काठमाडौं : सरकारले नजिकिँदै गरेको दशैँका लागि काठमाडौं उपत्यकामा तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ। नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले वीरगञ्ज, हेटौँडा, मुस्ताङलगायत जिल्लाबाट दशैँका लागि उपभोक्ताले सुपथ मूल्यमा किन्न पाउने गरी खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको हो।

खाद्य लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार अहिले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्‍ग्रा संकलन गर्ने काम भइरहेको छ। उपत्यकामा भने घटस्थापना भन्दा केही अघि मात्र ल्याइनेछ। 

दुई हजार खसीबोका र एक हजार च्याङ्‍ग्रा ल्याउने तयारी भइरहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन। ‘काठमाडौंमा यति खसीबोकाले त पुग्दैन,’उनले भनिन्,‘तर सरकारको मातहतबाट सुपथ मूल्यमा पहिला जस्तै उपभोक्तालाई सेवा दिने र मार्केटमा रहन ल्याउन लागिएको हो।’ 

Advertisement

उनका अनुसार निजी व्यवसायीहरूले आ-आफैँले खसीबोका ल्याउनेछन्। च्याङ्‍ग्रा भने मुस्ताङबाट ल्याइनेछ। गत वर्ष भने च्याङ्ग्राहरू नल्याइएको र खसीबोका १५ सयको संख्यामा मात्र ल्याइएको सुवेदीले जानकारी दिइन्।

थापाथलीबाट बिक्री वितरण

व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सुवेदीका अनुसार दशैँका समयमा खसीबोका र च्याङ्‍ग्रा   बिक्री वितरण गरिँदै आएको थापाथलीमा ल्याइनेछ। उक्त ठाउँबाट घटस्थापना आसपासबाट बिक्री वितरण गरिनेछ।

यस वर्षको घटस्थापना असोज २१ गते परेको छ। ‘घटस्थापनाको भोलि वा पर्सिबाट बिक्री वितरण थाल्छौँ,’उनले भनिन्। उनका अनुसार खसीबोका र च्याङ्ग्राको मूल्‍यसूची पनि सोही दिन मात्र कायम गरिनेछ। 

बाख्रापालक महासंघले २० हजार खसीबोका उपलब्ध गराउने

नेपाल व्यावसायिक बाख्रापालक महासंघले यस वर्षको दशैँ, तिहार, तथा छठ पर्वका लागि २० हजार खसीबोका उपलब्ध गराउने जनाएको छ। महासंघका अध्यक्ष प्रेमसागर पौडेलले काठमाडौं उपत्यकाका लागि यी संख्यामा खसीबोका उपलब्ध गराउने जानकारी दिए।

‘हामीबाट विभिन्न जिल्लाबाट गरी ३३ हजार खसीबोका उत्पादन हुन्छन्,’उनले भने,‘सरकार र व्यवसायीले खोजेमा २० हजार खसीबोका उपलब्ध गराउन सक्छौँ।’