काठमाडौं। १०६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीय बासिन्दाले माग गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित टोलीलाई स्थानीय बासीले आयोजना छिट्टो अघि बढाउन माग गरेका हुन्।
करिब तीन दशक अघि अरुण तेस्रो जलविद्युत आयोजना राजनीतिक खिचातानीका कारण बन्न नसक्दा नेपालले थुप्रै अवसर गुमाएको भन्दै माथिल्लो अरुणमा त्यस्तो नीयति भोग्नु नपरोस भनेर स्थानीयबासीलेनै ऊर्जा मन्त्रीसहितको टोलीलाई सचेत गराएका छन्।
संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको उक्त आयोजनाको निर्माण अघि बढाउन जस्तो सुकै आवश्यक सहयोग गर्न तयार रहेको स्थानीय बासीले भनाई छ।
माथिल्लो अरुण जलविद्युत आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोगलबाट बनेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेकाले आयोजनाको निर्माण जतिसक्दो छिट्टो सुरु गर्नु पर्ने बताए।
‘आयोजना बन्न लागेकोमा खुसी छौं, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चड्न पाउने छौं, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुने छ’, भोटेले भने,‘आयोजनाको अनुगमन गर्ने र हेरेर जाने मात्रै हैन वास्तविक रुपमै निर्माण सुरु गर्नु पर्यो, स्थानीय रुपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौं।’