July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

1.2K

काठमाडाैं । ३० असारमा अर्थमन्त्रीका रूपमा अर्थ मन्त्रालय प्रवेश गर्दै गर्दा जनार्दन शर्माले पुँजीगत खर्च वृद्धिको एजेन्डा बनाउने घोषणा गरे । उनले पुँजीगत खर्च गर्नै नसक्ने र असारमा आएर खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउने आफ्नो योजना रहेको सुनाए । तर, उनले अर्थ मन्त्रालय सम्हालेको दुई महिना बितिसक्दा समेत पुँजीगत खर्चमा कुनै सुधारको संकेत देखिएको छैन । बरु, अघिल्ला वर्षको भन्दा कम खर्च भएको तथ्यांकले देखाउँछ । 

चालू आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा समेत पुँजीगत खर्च १ प्रतिशत पुग्न सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार ४ असाेजसम्ममा दुई अर्ब ६१ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन विनियोजित पुँजीगत बजेट चार खर्ब ३५ करोडको ०.६ प्रतिशत मात्रै हो । अर्थात्, दुई महिनामा सरकारले १ प्रतिशतसमेत पुँजीगत खर्च गर्न सकेको छैन । 

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति भने उस्तै देखिन्छ । गत आवको सुरुको दुई महिनाको तुलनामा यस आवमा सरकारको पुँजीगत खर्च झन् कम देखिएको छ । अंक र अनुपात दुवैमा गत वर्षको भन्दा कम पुँजीगत खर्च भएको हो । ४ असाेजसम्म भएको खर्च गत आवको सोही अवधिको तुलनामा ०.४६ प्रतिशत बिन्दुले कमी हो । रकमका आधारमा एक अर्ब १४ करोडले कम खर्च भएको हो । गत आव ०७७/७८ को पहिलो दुई महिनामा सरकारले तीन अर्ब ७५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो । जुन विनियोजित बजेटको १.०६ प्रतिशत हुन आउँछ । 

Advertisement

 अर्थमन्त्री भन्छन्, ‘मासिक १० प्रतिशत खर्च गर्छौँ’ 
अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेको दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । तर, अर्थमन्त्री शर्माले अब हरेक महिना कम्तीमा १० प्रतिशत पुँजीगत खर्च गर्ने घोषणा गरिसकेका छन् । पुँजीगत खर्च वृद्धि गर्ने योजना बनिसकेको भन्दै उनले मासिकन्यूनतम १० प्रतिशत पुँजीगत खर्च हुने बताएका छन् । बजेटमा बढेको राजनीतीकरण र खर्च गर्नै नसक्ने प्रवृत्तिले गर्दा मासिक १० प्रतिशत पुँजीगत खर्च गर्न सहज भने नदेखिएको सरोकारवाला बताउँछन् ।

 राजस्व वृद्धि उत्साहप्रद
खर्चमा कमजोर देखिएको सरकारको राजस्व संकलन भने उत्साहप्रद देखिन्छ । दुई महिनामा सरकारले एक खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको १५.३१ प्रतिशत हो । चालू आवमा सरकारले कुल ११ खर्ब ५१ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । 

 कुल खर्च पौने ६ प्रतिशत पुग्यो
सरकारले दुई महिनामा ५८ अर्ब ५९ करोड रुपैयाँ साधारण खर्च गरेको छ । जुन कुल विनियोजित चालू बजेट १० खर्ब चार अर्बको ५.८३ प्रतिशत हो । यस अवधिमा सरकारले वित्तीय व्यवस्थातर्फ १३.८२ प्रतिशत अर्थात् २८ अर्ब ७३ करोड खर्च गरिसकेको छ । हालसम्म सरकारको कुल खर्च ८९ अर्ब ९४ करोड पुगेको छ । जुन कुल बजेट १६ अर्ब ४७ करोडको ५.४६ प्रतिशत हो । 

राष्ट्रिय सभाबाट विनियोजन विधेयक स्वीकृत
 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक २०७८’ स्वीकृत भएको छ । राष्ट्रिय सभाको दोस्रो बैठकमा मंगलबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । 

यसअघि सोमबार प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । उनले सो विधेयकका विभिन्न शीर्षकहरूमाथि समूहकृत रूपमा छलफलमा भाग लिनका लागि आगामी असोज ७ गते बिहीबारका लागि समय तोकिएको पनि जानकारी दिए ।

बैठकको एक दिनअघि सो विधेयकमाथिका विभिन्न शीर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरूलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते बिहीबार अपराह्न २ बजेका लागि बोलाइएको छ ।