July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

दुग्ध संस्थानले रोक्यो साढे चार महिनादेखि हजारौं किसानको दुधको पैसा

325

विराटनगर । प्रदेश १ का सात हजारभन्दा बढी दुग्ध उत्पादक किसानको भुक्तानी दुग्ध विकास संस्थानले साढे चार महिनादेखि रोकेको छ। सरकारी स्वामित्वको संस्थान मातहतको दुग्ध वितरण आयोजना विराटनगरले गएको माघ १५ यताको दुधको रकम किसानलाई दिएको छैन।

किसानबाट दुध खरीद गरी विभिन्न परिकार बनाउँदै बजार पठाउँदै आएको आयोजनाले उत्पादन बिक्री नभएको कारण देखाएर किसानको भुक्तानी रोकेको हो। यसले प्रदेशका सात हजारभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन्।

माघ महिनाको १५ दिनको, फागुन, चैत वैशाख र जेठभरिको पैसा नपाए पनि किसानले अहिले पनि दुध चाहिँ सरकारी आयोजनालाई निरन्तर दिइरहेका छन्। निजी कम्पनीहरूभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दुध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेका छन्।

‘हामीले माघ १५ सम्मको मात्रै दुधको पैसा पाएका छौं, त्यसयताको पाएका छैनौं,’ धनकुटाका किसान सोमबहादुर दनुवारले भने, ‘उत्पादन बिक्री नभएर भुक्तानी ढिलो भएको भन्दै हाम्रो पैसा रोकिएको छ।’

राष्ट्रिय कृषक समूह महासंघ प्रदेशका अध्यक्षसमेत रहेका दनुवारका अनुसार दुध बेचेरै सम्पूर्ण पारिवारिक गर्जो टार्दै आएका हजारौं किसान संस्थानको कमजोरीले बेखर्ची बनेका छन्।

यसमा किसानको सबैभन्दा ठूलो संख्या इलामको छ। आयोजनाले दैनिक संकलन गर्ने २६ देखि ३० हजार लिटरमध्ये झण्डै २० हजार लिटर दुध इलामबाट मात्रै आउने गरेको छ।