April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

एक सातामा चार लाख बढी राजश्व उठ्याे, तीन हजार बढी कारबाहीमा

2.5K

काठमाडौं : सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश २०७८’ लागू गरेकाे एक सातामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी व्यक्ति कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयकाअनुसार देशभर गत १४ गतेदेखि हालसम्म जारी निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार दुई सय १४ जना व्यक्तिलाई कारबाही गरी जरिवाना गराइएको हाे।

कारबाहीमा पर्नेमा निषेधाज्ञालाई मिचेर पसल खोल्ने, जथाभावी हिँड्डुल गर्ने लगायतका छन्। जरिवानाबाट चार लाख ३८ हजार राजश्व उठेको छ। यही अवधिमा २४ हजार ६ सय ८० जना निषेधाज्ञा उल्लंघन गरेका व्यक्तिलाई सम्झाइ बुझाई छोडेको प्रधान कार्यालयका प्रवक्ता बसन्त बहादुर कुवँरले जानकारी दिए। 

Advertisement

१४ हजार बढी सवारीसाधन कारबाही

एक सातामा देशभर निषेधाज्ञा उल्लंघन गर्ने १४ हजार तीन सय ५० सवारीसाधन कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ। जसमा चार हजार ७ सय ७० गाडी र ९ हजार ८ सय ७८ मोटरसाइकल रहेका छन्। सबै भन्दा बढी जेठ १८ गते सवारीसाधन कारबाहीमा परेका थिए। साे दिन दुई हजार आठ सय ७४ वटा सवारीसाधन कारबाहीमा परेका थिए। 

के छ अध्यादेशमा कारबाहीकाे व्यवस्था ?

अध्यादेशमा निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना गरिने व्यवस्था छ। काठमाडौं उपत्यकामा १४ गतेदेखि कार्यान्वयनमा आएको थियो। कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म दुवै जरिवाना जरिवाना हुने उल्लेख छ।

अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा उल्लेख छ। त्यस्तै, अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय र अत्यवश्यक कामबाहेक जथाभावी हिँड्डुल गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ। त्यस्तै, सम्बन्धित निकायको पास बिना सवारीसाधन चलाएकाे पाइएमा दुई हजारदेखि पाँच हजार सम्म जरिवाना हुने अध्यादेशमा उल्लेख छ।