April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, साढे ९ अर्बभन्दा बढीको कारोबार

2.7K

काठमाडाैं- नेपालको पुँजीबजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ। आइतबार निषेधाज्ञायताकै उच्च अंकले बढेको नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि देखिएको हो।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.४५ अंकले बढेर ४९२.५९ विन्दुमा कायम भएको छ।

Advertisement

आज कूल नाै अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज २१८ वटा कम्पनीका एक करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर एक लाख एक हजार ९१८ पटक खरिद-बिक्री भएका थिए।

रुरु जलविद्युत् कम्पनीको कारोबारमा आज पनि सकारात्मक सर्किट लागेको छ। नेपाल बंगलादेश बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १.९४ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ६६ करोड एक लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा अरुण काबेली पावर लिमिटेडका छ लाख ६८ हजार २२७ कित्ता सेयर किनबेच भएका थिए। ज्योति लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी तीन हजार ४४३ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

आज विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहका परिसूचक ओरालो लागे पनि बाँकी सबै समूहमा हरियाली छाएको छ। जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ११८.३९ विन्दुले बढ्दा उत्पादन तथा प्रशोधन समूहका परिसूचक सबैभन्दा बढी ४३.५६ विन्दुले घटेको छ।