April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

मध्य भोटेकोशीको आईपीओ स्थगित

5.4K

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित भएको छ। कम्पनीले मंगलवारदेखि स्थानीयका लागि निष्कासन गरेको आईपीओ असहज अवस्थाका कारण स्थगित गरेको जनाएको छ। कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानीय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो। 

Advertisement

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात वटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायीनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो।

कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिन बुधवार साँझ ५ बजेसम्म आयोजना प्रभावित क्षेत्रका २७१ जना स्थानियबाट ७७ हजार ८९० कित्ता र ३ हजार ९८ अन्य वासिन्दाहरुबाट ५ लाख १० हजार ४७० कित्ताको लागि आवेदन परिसकेको थियो। 

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो। स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ। 

यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ। हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ।