May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

सुदूरपश्चिममा ६४ हजार सवारीसाधनमाथि कारबाही, पाैने ४ करोड राजस्व संकलन

385

टीकापुर- चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ६४ हजार ३०५ सवारीसाधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्‍कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ अन्य सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारीसाधनबाट तीन करोड ७० लाख ८४ हजार ५०० रुपैयाँ राजस्व सङ्‍कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। 

‘यी सवारीसाधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्‍कलन भएको हो,’ उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारबाहीमा परेका हुन्। हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाइ गर्ने गरेका छौँ।’

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारीसाधन कारबाहीमा पर्दा तीन करोड ३१ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व सङ्‍कलन भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालु आवको नौ महिनामा नै आठ हजार १५२ बढी सवारीसाधन कारबाहीमा परेका छन् भने ३८ लाख ८५ हजार रुपैयाँ राजस्व बढी सङ्‍कलन भएको देखिन्छ। सवारीसाधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारीसाधन बढी कारबाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ। उनले भने, ‘सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ। सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ।’

यस वर्षको नौ महिनामा ४८१ सवारी दुर्घटना हुँदा ६७४ सवारीसाधनमा क्षति भएको छ भने १४७ को ज्यान गएको छ। यस अवधिमा ५११ गम्भीर र ४४७ जना सामान्य घाइते भएका छन्। ट्राफिक कार्यालयको तथ्याङ्‍कअनुसार अघिल्लो आवको नौ महिनामा २३२ सवारी दुर्घटना हुँदा ३०७ सवारीसाधनमा क्षति भएको थियो भने ११६ को ज्यान गएको थियो। अघिल्लो आवको नौ महिनाको तथ्याङ्‍क हेर्दा यस चालु आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ।