May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धन सहकार्यमा जोड

350

काठमाडौं–नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनका लागि आपसी सहकार्य गरिने भएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फबीच मंगलवार भएको भेटवार्तामा दुवै देशले एक अर्को देशको पर्यटन प्रर्वद्धनकोलागि सहकार्य गर्ने कुरामा जोड दिइएको हो।

थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा आपसी सहकार्य गर्न सके दुबै देशको पर्यटन  प्रर्वद्धन गर्न सघाउ पुग्ने बारे भेटमा छलफल भएको थियो ।

बोर्डका सिइओ रेग्मीले नेपाल गौतम बुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड  बौद्धमार्गी देश भएकोले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनस्थल भएको बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेको उल्लेख गर्दै सिइओ रेग्मीले बुद्धसँग जोडिएका अन्य स्थानहरुमा समेत थाइ पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा बोर्डले पहल गरिरहको बताए।

‘लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणा अनुरुप काम भइरहेको छ । यसले पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अबधि लम्ब्याउन पनि सहयोग पुग्ने छ,’ उनले भने।

थाइल्याण्डमा नेपालको पर्यटन प्रर्वद्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिने उल्लेख गर्दै सिइओ रेग्मीले त्यसको लागि दुबैतर्फबाट पहल गरिने बताए।

भेटका क्रममा थाइ राजदूत भोरस्पले नेपाल र थाइल्याण्डबीच धार्मिक सांस्कृतिक सम्बन्ध सुमधुर रहेको बताउँदै थाई पर्यटकका लागि लुम्बिनी प्रमुख आर्कषण भएको बताए।