काठमाडौं – हिमाल आरोहण गर्न बुधबार एकै दिन ४० आरोहीले अनुमति लिएका छन्।
पछिल्लो एक महिनाभित्र २ सय ६९ पुरुष र ७४ महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। यो अवधिमा कूल ३ सय ४३ आरोहीले अनुमति लिएका हुन्।
विभागले धेरैलाई सगरमाथा आरोहणका लागि अनुमति दिएको छ। विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ।
२७ करोडभन्दा बढी राजश्व संकलन
यस याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म झण्डै २७ करोड ५२ लाख १० हजार ४ सय ९९ रुपैयाँ रोयल्टी संकलन गरेको छ। वसन्त यामलाई हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ।
यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। सगरमाथा, अन्नपूर्ण र मनास्लु लगायतका उच्च हिमशृङखला आरोहीको रोजाइमा पर्छन्।
वसन्त यामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो। मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ सुरुआत भएको हो।