November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२० दिनभित्र धरहराको टावर पुनर्निर्माण सकिने, गजुर राख्न बाँकी

6.5K

काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहराको टावर पुनर्निर्माणको काम २० दिनभित्र सकिने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद अर्यालले सबै तलाको निर्माण काम सकिसकेको जानकारी दिँदै गजुर मात्रै राख्न बाँकी रहेकाले अबको २० दिनभित्र टावरकाे काम भने सकिने बताएका छन्।

उनका अनुसार अहिले पार्किङ स्थलको काम पनि धमाधम भइरहेको छ। ‘समग्र अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ, निर्माण संरचनाको भने ८० प्रतिशत सकिएको छ,’ उनले भने।

Advertisement

सहसचिव अर्यालले आगामी असोजसम्म पुनर्निर्माणका सबै काम सकिने बताए। उनले भने, ‘कोरोना बीचमा पनि काम रोकेनौँ, यो आउने असोज महिनासम्म काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ। बीचमा फेरि कोरोना संक्रमण फैलियो भनेचाहिँ अझै पछि धकेलिन सक्छ।’

उनका अनुसार धरहराको २२ तला निर्माणको काम सकिएको छ। धरहरा निर्माण सकिएपछि पुरानो धरहराको संरक्षण गर्ने काम बढाइने छ। ऐतिहासिक धरहरा २०७२ सालको भूकम्पले भत्काएको थियो।

अहिले ४२.२ रोपनी क्षेत्रफलमा धरहरा‍ पुनर्निर्माण भइरहेको छ। भ्याटसहित तीन अर्ब ४५ करोड लागतमा बन्दै गरेको धरहरामा संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत बनाइने छ।