November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘खुवालुङ’लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिन्छ : मुख्यमन्त्री राई

1.9K

मोरङ–‘खुवालुङ’  किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गरिने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताएका हुन्।

जलयात्राका सम्बन्धमा विज्ञद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उनले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताए।

Advertisement

समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै उनले धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्याउने सम्बन्धमा आवश्यक अध्ययन गरने जानकारी दिए।

किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपुर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए।

डोर वे इन्टरनेसलका नेपाल अध्यक्ष एवं जलयातायातविज्ञ विपुलराज पाण्डेले खुवालुङ दायाँबायाँ पाँच मिटर छाडेर जलयात्रा सञ्चालन गर्ने जानकारी दिँदै यसलाई फुटाउने सम्बन्धमा कहीँकतै कुरा नआएको बताए।