November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘स्क्र्याच एण्ड वीन’ अफर

3.4K

कास्की–आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटन चलायमान बनाउन  ‘स्क्र्याच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ।

पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिए। 

अफरअन्तर्गत जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइने बताइएको छ । उक्त ब्रोसरको माथि स्क्राच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्राच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्ने उनले बताए।

Advertisement

काठमाडौंबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो। स्क्राच कुपनमा प्याराग्लाइडिङ, बञ्जी,¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुङ्गा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि समावेश हुनेछ । 

सो योजनाका लागि पोखरा पर्यटन परिषद् (पिटिस) ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एसोसिएसन (हान), नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट्स (नाट्टा) रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) नेपाल माउण्टेनरिङ एसोसिएसन (एनएमए) नेपाल हवाई खेलकुद सङ्घ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (ऐगा),  डुङ्गा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

कँडेलका अनुसार प्रारम्भिक चरणमा नेपाली नागरिकलाई मात्र लक्षित यो योजनालाई सार्वजनिकसँगै अन्य योजनामा समिति जुट्नेछ। त्यसैगरी गण्डकी प्रदेशको मनाङबाहेकका जिल्लामा उपसमिति बनेको र उक्त जिल्लाबाट पनि स्थान विशेषका पर्यटन ‘प्रोडक्ट’ र गतिविधिका बारेमा जानकारी मागिएको छ।

कोभिड–१९ पछि पर्यटनमा नवीनतम सोच र विशेष योजनाको आवश्यकतासँगै प्रदेशको पर्यटकीय विषयसँग जोडेर प्राकृतिक, सांस्कृतिक र धार्मिक गतिविधिलाई जोड दिने कार्यक्रमसमेत ल्याउने तयारीमा समिति जुटेको संयोजक कँडेलले भनाइ छ।