April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

६३.३८ अंकले बढ्यो नेप्से

3.3K

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३.३८ अंकले बढेको छ। नेप्सेमा आज २.५६ प्रतिशतको वृद्धि देखिँदा परिसूचक २५३८.४६ अंकमा कायम भएको छ। 

आइतबार २०६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार कित्ता ८० हजार ९८६ पटक खरिद–बिक्री हुँदा ५ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका सबै सूचकहरू हरियो देखिएको आइतबार सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ अंकमा कायम भएको छ भने फ्लोट परिसूचक ४.२६ अंकले बढेर १७४.३४ अंकमा कायम भएको छ। त्यस्तै सबै समूहका उपसूचकहरू बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ७४२.७६ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको उपसूचक ५६१.३४ अंकले बढेको छ।

Advertisement

यस्तै बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र जलविद्युत समूह क्रमशः २६.५२, १३.२, १५३.७७, ४६.८७ र १३.८ अंकले बढेको छ। त्यस्तै वित्त समूह ६.३७, उत्पादन समूह १७२.८८, अन्य समूह ५७.९४, लघुवित्त समूह २४६.६ र लगानी समूह १.२५ अंकले बढेको छ। 

नबिल बैंकसँग मर्ज हुने हल्लाले नेपाल बंगलादेश बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ। आइतबार कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा नेपाल बंगलादेशको सबैभन्दा धेरै ३९ करोड ९० लाख २२ हजार रुपैयाँ बराबरको ११ लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ता छन्।