April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा नेपालबाट बोर्डसहित २५ कम्पनी सहभागी हुँदै

5.5K

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ वटा कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रवर्द्धनका लागि पहिले छिमेकी मुलुकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बताए ।

“भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर, भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ,” उनले भने । साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने उनले बताए ।

Advertisement

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीयस्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको जनाईएको छ ।