November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दोभान बजारमा भएको आगलागीबाट ४० करोडको क्षति

२०७७ फाल्गुन २०

6.2K

ताप्लेजुङ–दोभान बजारमा भएको आगलागीबाट करिब ४० करोड रुपैयाँबराबरको क्षति भएको छ। क्षतिको विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको प्रारम्भिक विवरण तयार गरेको हो।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको विवरणमा उल्लेख छ। नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा १ करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए।

आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो। मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए।

Advertisement

यसैबीच आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ। यसअघि अहिले बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए। राहत सामग्री आगलागी क्षेत्रमा पुगेपछि मात्रै मुख्यमन्त्रीको टोली आउने कार्यक्रम रहेको छ।