November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत केन्द्रीय प्रसारणमा

२०७७ फाल्गुन १८

2.2K

त्रिशूली: नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो ।

आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आउनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले गराउनुभयो ।

आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । उक्त विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

Advertisement

आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप पाँच मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान नं १ र स्थान नं २ गरेर थप पाँच स्थानमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको छ ।

त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्याइएको एक महिनाभित्रै पाँच मेगावाट विद्युत् थप हुने देखिएको छ । उक्त थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिनुभयो ।