काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नयाँ उपसूचक थपिएको छ। नेप्से व्यवस्थापनको फागुन ७ गतेको निर्णयअनुसार आइतबारबाट लागु हुनेगरी ४ वटा कम्पनी राखेर ‘लगानी’ समूह बनाई छुट्टै उपसूचक राखिएको छ भने केहि सुचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर गरिएको छ।
हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१८ छ। यी समूहलाई ११ वटा समूहमा विभाजन गरी समूहगत परिसुचक गणना गरिँदै आएकोमा अबदेखी लगानी समूह पनि थप गरी १२ वटा समूहगत परिसूचक बनाइएको छ।
नयाँ व्यवस्थाअनुसार अब नेप्सेले म्युचुअल फण्ड, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट र समग्र बजा परिसूचक गरी १६ वटा परिसूचक गणना र प्रकाशन गर्नेछ।
नेप्सेका अनुसार साबिकको अन्य ८ वटा कम्पनीमध्ये ४ वटा कम्पनीलाई ‘लगानी’ समूहमा राखी नयाँ समूह बनाइएको छ।
नयाँ बनाइएको लगानी समूहमा नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई राखिएको छ।