April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

‘अश्वेत महावाणी’ माथिको छोटो विवेचना

6.8K


डा. सुमाया राई

‘अश्वेत महावाणी’ पढिसकेपछि कवि श्री दयाकृष्ण राईज्यूको विचारभित्र एक प्रकारको ज्वालामुखी दन्किरहेको अनुभव हुन्छ जो आफूभित्र लाखौं टन लाभाहरू बोकेर हिंडन सक्ने क्षमता राखेको छ । त्यो लाभाहरूलाई वर्गीकरण गर्दै जाने हो भने त्यो लाभा पहिचानप्रतिको छ, त्यो लाभा जातिय, नश्लिय र लिङ्गभेदप्रतिको छ । कविको यस पुस्तकभित्र समावेश कविताहरूले दुखको कविता, सुखको कविता, प्रगतिको कविता, मायाप्रेमको कविता, प्रकृतिप्रतिको कविता आदिको रंगलाई अलिक फिक्का बनाउन सक्ने क्षमता राख्दछ भने अर्कोतिर पाठकहरूको हृदयलाई तरंगित बनाई सोच्न बाध्य बनाउन सक्दछ कवि श्री दयाकृष्ण राईज्यूको यो कवितासंग्रह ‘अश्वेत महावाणी’ ले ।

कविताहरूमा एकातिर जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक कुकृत्य र कुप्रथामाथि चोटिलो प्रहार छ, जति पढ्यो कविताहरूप्रति उतिनै प्रभाव बढ़दै गएको महशुस हुन्छ भने अर्कोतर्फ कविको अभिव्यक्तिबाट समाज र देशप्रतिको भावी दिनहरूमा आउन सक्ने विसंगति र बेथितीप्रति सचेत गराउदै प्रश्नहरू तेर्साउनुभएको भाव पनि प्रष्ट महशुस हुन्छ ।

Advertisement

‘एउटा रहस्यमय सुसाइड नोट’ कविता भित्रबाट:

यो रहस्यमय चिर्कटोलाई
एकाइसौं शताब्दीको सबैभन्दा महत्वपूर्ण
दस्तावेजको रूपमा अनुसंधान गरिनुपर्छ
जसको फरेन्सिक रिपोर्ट तयारी गरे र
त्यो व्यक्ति को हो र कहाँ गएर
उसले आत्महत्या गर्यो
सबै कारण पत्ता लगाउनुपर्छ ।

कविको विचारमा एकप्रकारको छट्पटी तर संकेतात्मक अभिव्यक्ति यस अर्थमा झल्किन्छ कि दशकौं पश्चात् प्राप्त जनताको संविधान बनाउने अवसरलाई उपलब्धि विहीन बनाइयो । पहिचान विस्थापित भएर हामी सबै ठगीएको महशुस गरेका छौं भन्ने भावलाई कविको कलमले राम्रोसँग समातेको छ । यसैगरी ‘हामी नेपाली’ कविता मार्फत नेपाली समाजको समसामयिक अवस्थालाई चित्रण गरिएको छ, जहाँ कर्मचारीतन्त्र र भ्रष्टाचारले जरा गाडेको छ, जहाँ जनताका प्रतिनिधिहरुको भनाई र गराईमा आकाश र जमीन जस्तै फरक दर्शाउनमा सक्षम छ ।

कविको कविताहरूमा काल्पनिकता छैन, कुनै रूमानी संसारमा डुबेका प्रेमीप्रमिकाको प्रेमालाप छैन । सत्य, सत्य र मात्र सत्यको अभिव्यक्ति छ ।

कवि मातृप्रेम, वात्सल्य भावमा डूबेको क्षणलाई जीवनको प्राप्तिसँग दाँजी रहँदा आमाको पुरानो, थोत्रो गुन्युबाट निर्मित थाँङ्नानै बढी आरामदायक, न्यानो र सरल लागेको भावले हृदयलाई अवश्यपनि भावुक बनाई छाड्छ ।

कविले समाजमा व्याप्त विकृति र विसंगतिलाई राम्री केलाउनु भएको छ । समाजमा व्याप्त पछौटेपनको कारण अन्धविश्वास रहेको र त्यो अन्धविश्वासलाई व्यवहारमा उतार्दै परापूर्वकालदेखि चलिआएको कुसंस्कारहरू, निर्बलमाथि बलियोले थिचोमिचो गर्ने जस्ता प्रवृतिलाई ‘स्वायत्त प्युटार गाँउ ‘एवंम्’ छाउपड़ी भित्रको फूल’ आदि कवितामार्फत प्रस्तुत गर्नुभएको छ, जो चेतनाको आँखा खोल्नका लागि सक्षम छन् ।

आज हामी २१औं शताब्दीमा हिँहिरहँदा विशेषगरी नेपाली समाजमा यौन विषय सम्बन्धि संवादहरू अझै खुलेर बोल्न सक्ने अवस्था छैन । यद्दपि यौन मानव जीवनको अपरिहार्य अंग हो । सिग्मण्ड फ्रायडले यसलाई ‘लिबिडो’ को रूपमा व्याख्या गरेका छन् । समस्त मानव जीवनलाई चलायमान गर्ने यौन जस्तो अपरिहार्य मानवीय पक्षबारे नेपाली साहित्यको क्षेत्रमा प्रयोग भएको पाइन्छ नै । कविले पनि यौन भावलाई बडो सुन्दर र सिपालु ढङ्गले कहिले देशदेखि विश्व राजनीतिको बाङ्गो–टेढ़ो बाटोतिर धकेलेका छन् भने कहिले पहुँच नपुगेका तर आफ्नो झिनो आवाजलाई बुलन्द गर्ने प्रयासमा रहेकाहरू, आफ्ना स्त्रीत्वको प्रतिक (रजस्वला) ति अनमोल केहि दिनहरूलाई अँध्यारो छाउपडीमा बिताउनुपर्ने व्यथालाई उजागर गर्नमा सफल हुनुभएको छ । ‘हेराइ’ मार्फत पुरूषहरूको स्त्रीप्रतिको हेर्ने मनोविज्ञानमाथी चोटिलो व्यङ्ग्य गर्नपनि भ्याउनुभएको छ भने कविता ‘यौनको उडान’ माध्यमबाट यौनिक क्रियाकलापलाई बाह्य आवरणमा दर्शाउदै ‘ठुले र सानी’ को अन्योल भविश्यप्रति ठूलो प्रश्नचिन्ह ठढ्याउनु भएको छ, जो ज्यादै मार्मिक पनि छ ।

कविले भूकम्प जो स्वयंमा एक प्राकृतिक प्रक्रिया हो यसलाई मुन्धुमको स्रोत व्यक्ति ‘नाक्छुङ’ले मुन्धुम फलाक्दा स्वस्फुर्तरूपले हुने शारीरिक प्रकम्पसँग जोडेर हेर्नुभएको छ । जहाँ नाक्छुङको स्वस्फुर्त रूपले हुने मुन्धुम प्रकम्पन जीवन र जगतका लागि आध्यात्मिक परिवर्तनका संवाहक हो भने भूकम्पको पराकम्प पनि जीवन र जगतमा ठूलो परिवर्तन ल्याउने संवाहक हुन भने संदेशलाई अत्यन्तै सटिक रूपमा प्रस्तुत गर्नु भएको छ कविले भुकम्पको संदर्भमा । समाजको अर्को मनोविज्ञानलाई कविको तिÞक्ष्ण दृष्टिले हेर्न भ्याउनु भएको छ– सेल्फी मनोविज्ञान ! भूकम्प पीडितहरूप्रति मलम लगाउने काम भयो कि भएन तर आफ्नो विलासिताको फोहोरी तुष्टिकरण भयो सेल्फी खिचेर ! कस्तो उपहास ? मानवीय संवेदनाप्रतिको ठाडो प्रश्न कविको सेल्फी खिच्ने प्रति !

कविले कोरोना महामारीकालमा भोग्नुपरेको कठिन, विरक्त र विषम परिस्थितिबाट संघर्ष गर्नुपरेको मानवीय संवेदनाको विषयलाई पनि अति रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

समग्रमा भन्नुपर्दा कवि श्री दयाकृष्ण राई ज्यूको ‘अश्वेत महावाणी’ कृति कुनै आत्मरति वा आत्मवंचना नभई यो हामी बस्ने समाज र समाजभित्रका व्यक्तिहरूको मनोभावलाई समसामयिक घटनाक्रम, प्राकृतिक घटनाक्रम, राजनीतिक घटनाक्रमसँग अत्यन्तै राम्रोसँगले तारतम्य मिलाएर प्रस्तुत गर्नमा सफल हुनभएको छ, यसर्थ यो पुस्तक पठनीय र संग्रहनीय बनेको छ ।