May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

‘गुरु’ उपन्यासमा अभिव्यञ्जित समयको चित्र

1.7K

ज्ञानु अधिकारी

कविता राई कविका रूपमा परिचित स्रष्टा हुन् । ‘गुरु’ शीर्षकको उपन्यास प्रकाशित गरेर उनी हालै उपन्यासकारका रूपमा नेपाली साहित्यमा प्रवेश गरेकी छिन् । शिक्षण पेसामा आबद्ध उनको यो उपन्यास मूलतः विद्यालयका शिक्षक र विद्यार्थीका विषयलाई केन्द्र बनाई लेखिएको भए पनि यस उपन्यासमा अन्य समसामयिक विषयवस्तुलाई पनि अन्तर्वस्तुका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा विभिन्न उपकथाका रूपमा पछिल्लो चार दशकको नेपाली समाज र यहाँका राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका विभिन्न घटनासन्दर्भहरूलाई पनि कथानकका रूपमा समानान्तर रूपमा अगाडि बढाइएको छ । पूर्वी नेपालको पहाडी क्षेत्र अर्थात् भोजपुर जिल्लावरिपरिको परिवेश मुख्य रूपमा आएको छ र पश्चिम पहाडको लमजुङ दुराडाँडासम्म यसको परिवेश फैलिएको छ ।

मूलतः उपन्यासको कथावस्तु प्रमुख पात्र सहदेव राई अर्थात् कृष्ण सरको जीवनकथामा आधारित छ । कृष्ण सर र कृष्ण सरजस्तै नेपाली युवापुस्ताले भोगेको समय र समाजको चित्र यस उपन्यासमा कोरिएको छ । उपन्यासमा लामाछोटा गरी जम्मा बाउन्नओटा शीर्षकका उपकथाहरू जोडिएका छन् । ती उपकथाहरूकै समष्टिमा उपन्यासको निर्माण भएको छ र ती सबै उपकथाका केन्द्रमा रहेका छन् सहदेव राई । उपन्यासका यी उपकथाहरू आफैमा स्वतन्त्र कथाका रूपमा समेत आएका छन् र ती रोचक छन्, यथार्थ छन् र हाम्रै समय हेर्ने ऐनाका रूपमा आएका छन् ।

Advertisement

उपन्यास २०७७ को कोरोना महामारीकै समयमा हराएका सहदेव राई अर्थात् कृष्ण सर र चन्द्रमा भन्ने पात्र उनन्चालीस वर्षपछि वद्धावस्थामा छुट्टाछुट्टै ठाउँबाट भोजपुरको एउटा विद्यालयमा आइपुगेको सन्दर्भबाट सुरु भएको छ । आजभन्दा झन्डै चार दशकपछिको समयबाट उपन्यास प्रारम्भ भएको छ र यसले उपन्यासका पाठकमा प्रारम्भमा नै कौतुहलताको सृजना गरेको छ । स्कुलका गणित पढाउने कृष्ण सरले एकाएक स्कुललगायत त्यो ठाउँ नै छोडेर हिँडेपछि विद्यार्थी, अभिभावक र स्कुलप्रशासनले उनको व्यापक खोजी गर्छ । आफ्ना सारा सामान, मोबाइल र ल्यापटसमेत कोठामा नै छोडेर हिँडेका कृष्ण सरको पेनड्राइभमा रहेको उनको डायरी पढ्ने क्रमबाट यस उपन्यास प्रारम्भ हुन्छ अनि डायरीको अन्त्यसँगै उपन्यासको अन्त्य हुन्छ । यसरी एउटा ग्रामीण भेगको गरिवी, अभाव र अभिभावकविहीनताका नियतिहरूसँग जुध्दै विद्यालय शिक्षकसम्मको यात्रा पार गरेको एउटा इमान्दार पात्रको बाल्यकालीन जिज्ञासु अवस्था, किशोरकालीन पीडामय दिनहरू, युवावस्थाका सङ्घर्ष र चोटहरू, तथा वृद्धावस्थाको स्थिर जीवन सबैसबै उपन्यासमा जीवन्तरूपमा आएका छन् ।

उपन्यासमा मूलतः तीनवटा पक्ष सशक्त रूपमा आएका छन् । शिक्षक र विद्यार्थीको मनोविज्ञान र सङ्घर्ष, पूर्वी पहाडको संस्कृति र परिवेश र देशको राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका समसामयिक घटनासन्दर्भहरू । यसका साथै उपन्यासमा प्रेमप्रणयका विभिन्न आयाम र स्वरूपका साथै आत्मिक प्रेमको आदर्शलाई पनि स्थापित गरिएको छ । यस्ता विषयवस्तुहरूको समानान्तर प्रयोगले उपन्यासलाई रोचक मात्र बनाएको छैन समसामयिक र सामाजिक यथार्थकेन्द्रीसमेत बनाएको छ । दिनप्रतिदिन बदलिँदै गएको नेपाली समाजका धेरै कुरा समेटिएको प्रस्तुत उपन्यासले पाठकलाई यसरी संवेदित बनाइदिन्छ कि, यति सोचमा डुबाइदिन्छ कि, एकपटक फेरि हामी हाम्रो विगततिर फर्कन बाध्य हुन्छौँ र प्रश्नशील बन्छौँ– के हामीले हिँडेर आएको बाटो, हामीले भोगेर आएको समय यति नै क्रूर र वीभत्स थियो त ? हामी बाँच्नुका नाममा यति धेरै अभिघात/ट्रमा खपेर बाँचिरहेका रहेछौँ त ?

उपन्यासको भाषा मीठो छ । त्यसमा स्थानीय लवजसमेत मिसिएको हुँदा जीवन्त लाग्छ । त्यसभन्दा पनि अझ मीठोसँग स्थानीय परिवेशको चित्रण गरिएको छ । काव्यात्मक लयका साथ वर्णन गरिएका परिवेश चित्रण अझ प्रभावकारी देखिन्छ । जस्तैः तुर्केपुल पुग्दा मिर्मिरे थियो । तुम्लिङटार पुग्दा पूरै उज्यालो भयो । तुम्लिङटार बाँडाको पसलमा खुकुरी, टर्चलाइट र दुई पोका चाउचाउ किनेर कत्ले भञ्ज्याङको बाटो लागेँ । बाटोभरि थुप्रै यात्रु र ढाक्रेहरू भेटिए । मेरो जस्तै आफ्नै वेदना र सुस्केराहरू थिए ती प्रत्येकसँग । बाटो सातटारे, अक्करको भिर, लेगुवा, माङमाया, डिकुरे, पाख्रिवास, हिले…हुँदै सोझिएको थियो । बाटोको निश्चित गन्तव्य थियो तर मेरो कुनै गन्तव्य थिएन । बाटोजस्तै सोझो थिएन मेरो यात्रा । पृ.१०५ । दुःख, अभाव, गरिवी र अभिभावकत्वविहीनताका कारण उत्पन्न हीनताबोधले घर छाडेर हिँडेको एक किशोरको अभिव्यक्ति हो यो । यसरी सरल भएर पनि गम्भीर भाव बोकेका अभिव्यक्तिले उपन्यासलाई पठनीय बनाएको छ ।
उपन्यासमा प्रेमप्रसङ्ग आएको छ । प्रेम स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई विशिष्ट बनाउने काम स्वयंमा भर पर्छ भन्ने कुरा देखाउँदै आत्मिक प्रेम मात्र शाश्वत र पवित्र हुन्छ भन्ने कुरालाई यहाँ स्थापित गरिएको छ । उपन्यासको प्रमुख पात्र सहदेव राई जीवनभरि आफ्नी प्रेमिकाका नाममा विवाह नगरी बस्छ र त्यसमै सन्तोष र गर्व गर्छ । उसले उपन्यासमा भनेको छ: उसका लागि अहिले मेरो मनमा घृणा कहीँ पनि छैन । हाम्रो त्यो प्रेमिल सम्बन्ध यौनमा बदलिएको भए सायद अहिलेसम्म म उसलाई प्रेम गरिरहन सक्दिनथेँ होला, पक्का । जसरी सिम्माको त्यति सम्झना आइरहँदैन । यदि उसको सम्झना आइहाले पनि सुखद अनुभूति हुँदैन, आत्मिक शान्ति मिल्दैन । एउटै कुराको पनि कति फरकफरक हुन्छन् भोगाइ ? बगरका ढुङ्गा फरक आकारका भएजसरी प्रेमको स्वरूप पनि कति फरक हँुदोरहेछ । खुसी र दुःखका स्वरूप पनि त्यसरी नै फरकफरक हुँदारहेछन् । पृ.३०६ प्रस्तुत उपन्यास कल्पनामा नभई यथार्थमा आधारित भएकाले पनि यो विगत चार दशकयताको नेपाली समाजमा भएका विविध घटनासन्दर्भको दस्तावेजीकरणका रूपमा समेत आएको छ ।

उपन्यासले पात्रको कार्यव्यापार अर्थात् क्रियाकलापको मात्र वर्णन गर्दैन, यसले देश, काल र परिवेश सम्पूर्ण अवयवको वर्णन गर्छ । यसर्थ उपन्यास पढ्नु भनेको इतिहास पढ्नु हो, समाज पढ्नु हो अनि समयले छोडेर गएका बेहिसाव दाग र निसानीहरू पढ्नु हो । उपन्यासमा विद्यार्थीको मनोविज्ञान नबुझी पढाउँदा र उनीहरूको कमजोरी र समस्यालाई मजाक बनाएर प्रस्तुत गर्दा उनीहरूमा पर्ने मनोवैज्ञानिक असरलाई उपन्यासका विभिन्न सन्दर्भमा देखाइएको छ । साथै विभिन्नकिसिमका नारी पात्रको भूमिकाका माध्यमबाट नारी जीवनका सङ्घर्ष, संवेदनशीलता, जटिलता र बाध्यताहरूलाई पनि उपन्यासमा समेटिएको छ । उपन्यासमा २०३६ को जनमत सङ्ग्रहको सन्दर्भबाट सुरु भएको राजनीति घटनाक्रम २०७७ मा लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गर्दाको घटनाक्रमसम्म आइपुगेको छ । यसबाट कसरी देशको राजनीतिक घटनाक्रम र उतारचढावले शैक्षिक संस्था र शैक्षिक गतिविधिहरू पनि प्रभावित हुनेरहेछन् भन्ने कुरा प्रस्तुत गरेको छ ।

उपन्यासमा एउटा महत्वपूर्ण अन्तर्वस्तुका रूपमा दशवर्षे माओवादी सशस्त्र युद्धको सन्दर्भ आएको छ । यस युद्धले खासगरी सर्वसाधरण र शैक्षिक क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई देखाइएको छ । विद्रोहीपक्ष र सत्तापक्ष दुवैबाट सर्वसाधरणले खेप्नुपरेको दुःख र सन्त्रासलाई उपन्यासमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । जस्तैः युद्धका पनि नियम र सर्तहरू हुँदो हो । सशस्त्र युद्ध आफैँमा हिंसात्मक हुने नै भयो । तर हतियारविहीन निःशस्त्रसँग हतियार प्रहार गरेर गरिएको विजय हार्नेका लागि घोर असह्य र जित्नेका लागि मजाक मात्र लाग्यो मलाई । …व्यक्तिहत्याले के परिवर्तन हुन्छ ? राज्यसत्तासँगको वैचारिक, व्यवस्थागत अन्तद्र्वन्द्वमा यसरी सर्वसाधरण मान्छेहरू नमुछियुन् भन्थे म । समयले किन मलाई पटकपटक यस्तै घटनाको साक्षी बनाइरहन्छ ? पृ. २०५ एउटा शिक्षकलाई स्कुलपरिसरबाट नै उठाएर लगेपछि हत्या गरिएको सन्दर्भमा व्यक्त भएको यो भनाइले तत्कालीन हिंसाजन्य गतिविधिप्रति चरम असन्तुष्टि व्यक्त भएको छ ।

उपन्यासमा किराँत संस्कृति, ग्रामीण जीवनशैली, पञ्चायती व्यवस्थाप्रतिको असन्तुष्टि, लैङ्गिक विभेदको अवस्था, सानैमा आमा गुमाउनुको पीडा, किशोरकालीन मनोविज्ञान, मनस्थितिमा आएका निराशा र विचलन, युवावस्था र प्रेमप्रसङ्ग, शिक्षकशिक्षिकाले बेहोर्नुपरेका विभिन्न जटिल परिस्थिति, पारिवारिक वियोग, प्रेममा असफलता, आफ्नो ठाउँबाट पलायन हुनुपर्ने बाध्यता, गृहयुद्धका सन्त्रास, मानसिक रूपमा विक्षिप्तता, मधेस आन्दोलन, समावेशिताको अभियान, साइबर संस्कृतिको प्रभाव, शिक्षक र विद्यार्थीको सम्बन्ध आदि विविध विषयवस्तुहरू कथानक बनेर उनिएका छन् । समग्रमा प्रस्तुत उपन्यास नेपाली साहित्यको महत्वपूर्ण र पठनीय कृतिका रूपमा देखिन्छ ।

shabdaga@gmail.com