टीका चाम्लिङको शब्द–संगीतमा ‘मान्छेसित…’ गीत सार्वजनिक, रीमा गुरुङ होडाको मनछुने स्वर
काठमाडौँ । कवि तथा गीतकार टीका चाम्लिङको शब्द–संगीतमा तयार पारिएको नयाँ गीत ‘मान्छेसित…’ सार्वजनिक भएको छ । टीका चाम्लिङ अफिसियल च्यानमा सार्वजनिक गरिएको गीतमा जीवनका उतार–चढाव, मनोवैज्ञानिक अवस्थाहरू र मानवीय द्वन्द्वलाई गहिरो रूपमा अभिव्यक्त गरिएको छ ।
यो गीतलाई रीमा गुरुङ होडाले हृदयस्पर्शी स्वरमा प्रस्तुत गरेकी छन् । गीतका प्रत्येक पंक्तिले ‘मानिसमा केवल पुण्य मात्र होइन, पाप–श्रापदेखि आश–आस्था सबै मनस्थितिजन्य हुन्छ’ भन्ने दार्शनिक भावलाई कलात्मक ढंगले भन्छ ।
गीतमा मानवीय अवस्थाहरू— उठ्ने, चिप्लिने, चुक्ने र उभिने क्षणहरू— एकैसाथ चित्रण गरिएको छ । “त्यही बाटो, त्यही भञ्ज्याङ… कोही भीरमा लड्न सक्छ, कोही शिरमा चढ्न सक्छ” जस्ता पंक्तिहरूले जीवनको परिस्थिति–निर्भर यथार्थलाई भव्य रूपले उभ्याउँछन् । गीतको एरेञ्ज फणिन्द्र राईले गरेका हुन् भने रेकर्ड, मिक्स र मास्टरिङको जिम्मेवारी सुमन खड्काले सम्हालेका छन् । गीत पर्पल स्टुडियो, नक्सालमा रेकर्ड गरिएको हो ।
कोरसमा दीपा तामाङ, मोनीका राई र दीपा सुहाङ लिम्बूको आत्मीय संगत छ, जसले गीतलाई अझै प्रभावशाली बनाएको छ । गीतका निर्माता सुस्नेहा मगर हुन् । भिजुअल पक्षमा सहायक क्यामेरा सुजन गिरी र आशिष कुरुम्बाङ लिम्बू, मेकअपमा रविना लिम्बू, सम्पादन÷रङ÷पोस्टरमा समीर आङबुहाङ लिम्बूको महत्वपूर्ण भूमिका रहेको छ । भिजुअलको पोस्ट–प्रोडक्सन ताप्लेजुङ मिडिया हाउस र जस्केलो क्रिएशनले सम्हालेका छन् ।
गीत निर्माण टिमले विशेष धन्यवादका रूपमा सुस्नेहा मगर, रीमा गुरुङ होडा, राई नबिन, रक्षा राई, नाना चाम्लिङ ‘सरिता’, समीर आङबुहाङ लिम्बू, सरिता राई आङबुहाङ, धन खालिङ, रञ्जना राई श्रेष्ठ, ब्रजेश श्रेष्ठ, नविन (अरुण) चाम्लिङ राई, सञ्जिब चाम्लिङ राई, हेमन चाम्लिङ राई, नविना चाम्लिङ साम्पाङ, इसाम्बु चाम्लिङ राई, सुम्निमा चाम्लिङ राई तथा सबै सम्मानित संगीतकर्मी र शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
यो गीत कवि तथा गीतकार टीका चाम्लिङद्वारा २०७९ साउन ८ गते, भक्तपुरमा रचना गरिएको हो । गीत वर्तमान समयका मनोवैज्ञानिक यथार्थ र मानवीय संवेदनालाई कलात्मक ढङ्गले उतार्न सफल मानिएको छ ।