January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

संवादरहित ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर

2.7K

भोली माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेश सापकोटाले निर्देशन गरेको फिल्मको ट्रेलर संवादरहित छ । गीत र एक्सनलाई विशेष प्राथमिकता दिइएको ट्रेलरमा कुनै पनि कलाकारको संवाद समावेश गरिएको छैन । ट्रेलरमा प्रेम, रोमान्स, विछोड र रोदनलाई पनि अटाइएको छ ।

सोमवार सेन्सर पास भएको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय रहेको छ । यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । ट्रेलरमा उनीहरुलाई गीतमा देख्न सकिन्छ ।  फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्मित यस फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले देशभर वितरण गर्दैछन् । लकडाउनपछि सिनेमा हलमा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो । पुष १० गतेबाट देशभरका सिनेमा हल सञ्चालनमा आएपनि नयाँ फिल्म प्रदर्शन हुन सकेका थिएनन् । तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य छन् । जसले सिनेमा हलमा दर्शक उपस्थिति अत्यन्त न्यून छ । अब ‘एउटा यस्तो प्रेम कहानी’ ले सिनेमा हललाई पुरानै अवस्थामा फर्काउने धेरैको विश्वास छ ।

Advertisement