काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्यसमेत रहेका राजेश महर्जन चलचित्र ‘स्टुडेन्ट’ मार्फत निर्माताको रुपमा डेब्यु गर्दैछन । चलचित्रको निर्देशन भने निर्देशक रामकृष्ण बजगाईंले गरिरहेका छन् ।
दुई दशक अघि निकै नै चर्चामा रहेको ‘बाँंझो खेतमा छड्के सलाम’ बोलको गीत छायांकन गर्दै चलचित्रको सुरुवात गरेका उनले अहिलेसम्म आधा भन्दा बढी छांयाकनको काम सकिएका छन् । छिट्टै नै यस चलचित्रको सम्पूर्ण काम सकेर सार्वजनिक मिति पनि घोषणा गरिने निर्माता महर्जनले बताए ।
चर्चित गीत ‘बाँंझो खेतमा छड्के सलाम’लाई भने रिमेक गरेर फिल्ममा आवद्ध गरिएको छ जसमा शम्भुजित बास्कोटाकै संगीत, प्रेम राजा महत र कोमल वलीकै स्वर रहेको छ । चलचित्रमा बास्कोटासँगै हरिश माथेमाको संगीत, वरिष्ठ नृत्य निर्देशक कमल राईको नृत्य निर्देशन, मदन घिमिरे कश्यपको छांयाकन र बनीस शाहको सम्पादन रहने छ ।
बिद्यार्थी जीवनमा के–कस्ता घटनाहरु घट्छन्, के–कस्तो परिस्थितिको सामना गर्नुपर्छ र उसका अभिभावक र कलेज क्याम्पस र शिक्षकहरुको व्यवहारले एउटा विद्यार्थी जीवनमा कस्तो घटनाहरु घटन सक्छ भन्ने सम्भावित घटना र विद्यार्थीहरुको जीवनका उतारचढावलाई चलचित्रमा चित्रण गरिएको छ ।
राज सिने आर्ट्सको ब्यानरमा निर्माण भईरहेको यस चलचित्रमा जान राना, शहन महत, रोहन श्रेष्ठ, प्राप्ती थापा, सोफी कार्की, रुक्साना श्रेष्ठ, अर्सु महर्जन, सिम्रन शाक्य लगायत छन भने वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ अभिनेता रविन्द्र खड्का, वरिष्ठ अभिनेता धिरेन शाक्य, रामेश्वर बुर्लाकोटी, गीता अधिकारी, बिन्दा खतिवडा, सिरु विष्ट, कोपिला थापा लगायतको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा प्राय सबै नयाँ कलाकार भएपनि उनीहरुको मिहिनेत र सबैको कामप्रति आशावादी रहेको कुरा निर्देशक रामकृष्ण बजगाइँले बताए ।