February 25, 2021, Thursday
२०७७ फाल्गुन १३
1:37:26 pm

ओलीलाई पार्टी सदस्यबाट हटाउन कारबाही प्रक्रिया थाल्ने दाहाल–नेपाल समूहको निर्णय

नेपालमामिला संवाददाता
२०७७ माघ २

480

काठमाडौँ : नेकपा (दाहाल–नेपाल) समूहले केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यद्यपि दाहाल–नेपाल समूहले पुस ७ को केन्द्रीय कमिटी बैठकको निर्णयबाट ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको छ ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित छ । दुवै समूहले आफूलाई वैधानिक भएको दाबी गरेका छन् । यसैअनुसार दुवै समूह संगठन निर्माणमा पनि जुटेका छन् । यही अवस्थामा दाहाल नेपाल समूहको शुक्रबारको स्थायी कमिटी बैठकले ओली र पौडेललाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले बताए । पार्टी सदस्यताबाट हटाउनु अघि विधानअनुसार प्रक्रिया पूरा गरिने उनले बताए ।

उनले भने, ‘संसद् विघटन गरेर देशलाई राजनीतिक तथा संवैधानिक जटिलतामा फसाएकाले ओलीमाथि र त्यसको मतियार बनेकाले पौडेलमाथि पार्टी सदस्यतासमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले ओलीलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने बताए । ‘पार्टीको नीतिविपरीत गतिविधि गर्दै गएकोमा तपाईंलाई किन कारबाही नगर्ने रु पार्टी सदस्यताबाट किन निस्कासन नगर्ने भनेर उहाँलाई पहिला स्पष्टीकरण माग गर्ने निर्णय भएको छ,’ पोखरेलले भने,।