June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

सानो कुराबाट शुरु हुने दुई फरक छोटा चलचित्र

देवेन्द्र सुर्केली
२०८० जेष्ठ ५

920

जिरो हटाएपछि एक हुन्छ
मध्यप्रदेशको नानाखेडा पुग्न १० किलोमिटर छ । त्यहाँ एक बालकले चियापसल थापेका छन् । कैयौं सवारी साधनहरू गुड्छन् । तर कोही रोकिदैनन् । हरेक यात्रुसँग उक्त बालकले आशातित नजरले हेर्छ । उम्लिएको चिया सेलाउँछ, उसले फेरि तताउँछ । तताउँदा तताउँदा चिया नै रित्तिन्छ । तर कोही ग्राहक बनेर आउँदैन । उसको चिया नबिकेरै उ कमिलाहरूसँग खेल्न पुग्छ । यसरी नै उसका कैयौं दिन बित्छ ।

एकरात मातेर झुल भएका केही युवाहरू आउँछन् । र जिरो अंकलाई मेटिदिन्छन् ।

त्यसको भोलीपल्ट एक कार रोकिन्छ र सोध्छ –नानाखेडा कति टाढा छ ?

Advertisement

बालकले भन्छ –८/१० किलोमिटर टाढा छ ।

यात्री अलमलिन्छ र चिया पिएर जान्छ । त्यसयता प्रत्येक गाडी रोकिन थाल्छ । उनीहरूको सोधाई हुन्छ –नानाखेडा कति टाढा छ ?

बालकको सहज उत्तर हुन्छ – ८/१० किलोमिटर टाढा छ ।

उसको पसल निकै चल्छ ।

एक यात्रृ ग्राहकलाई चित्त नबुझेर भन्छ –तिमी ८/१० किलोमिटर भन्छौं, तर संकेतमा १ किलोमिटर छ त !

बालकमा संकोच पैदा हुन्छ र फुर्सदमा गएर हेर्छ । त्यहाँ जिरो मेटिएको पाउँछ । बालक दौडदै गएर अगरबत्ती ल्याई एक मात्रै रहेको त्यस किलोमिटर संकेतलाई पूजा गर्छ ।

१६ मिनेट ४७ सेकेण्ड रहेको लघुचलचित्र जिरोको पूरा कथा हो यो । टाढाको बाटोमा मानिस नअलमलिई दौडन्छ भने नजिक छ भने पुग्न लागियो भन्दै बिसाएर जाने प्रवृतिको कथालाई उनिएको छ चलचित्रमा ।

मिहिर महिधरको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा इरफान खानले अभिनय गरेका छन् । ७ वर्ष अगाडि युट्युवमा हालिएको चलचित्रलाई १४ लाखले हेरिसकेका छन् ।

एकजनाको रिसले कयौंलाई पुर्याउने असरको कथा
एक रिक्साचालक छन् । बिहानै काममा निस्कन्छ । धेरैजनाको सामान पुर्याएर एक घरमा पुग्छ । जुन घरको छोरीलाई सँधै रिक्सामा बजार पुर्याउने दैनिकी हुन्छ ।

अर्को घरमा श्रीमान श्रीमतीबीच झगडा हुन्छ । श्रीमानको फोनमा झुण्डिने बानीले वाक्क भएकी श्रीमतीले सम्बन्ध विच्छेद माग्छे । त्यही रिसले रन्थनिएर निस्किएका श्रीमान फोनमा बोल्दै निस्कन्छ । बाटोमा तरकारी किनिरहेको युवासँग ठोकिन्छ । तरकारी किन्ने युवाले केही बोल्न नपाउँदै फोनका बोल्ने मानिसले तथानाम गाली गरेर हिड्छ ।

तरकारी किन्ने युवा बस चढ्छ । गाडी भाडा दिँदा कन्डक्टरले सानो पैसा दे भन्छ । युवाले खुद्रा नभएको बताउँछ । कन्डक्टरले हुन्न भनेपछि झगडा पर्छ, युवालाई बिचबाटोमै ओरालिदन्छ ।

बसको अगाडि एउटा कार ढिलोगरी हिड्छ । जसले गर्दा बसलाई समस्या हुन्छ । बसले कारको बाटो छेक्छ । कन्डक्टर र कारवालाबीच केहीबेर भनाभन हुन्छ ।

कारवाला फोनमा बोल्दै कार चलाइरहेको हुन्छ । फोनमा कसैसँग झगडा गरिरहेको हुन्छ । फोनको कारण रिक्सासँग कार ठोकिन्छ । कारवालाले रिक्सावालालाई मुक्का बर्साउँछ । जुन दृश्य देखेकी युवती डरले आँशु झार्छे ।

रिक्सावाला रक्सि पिउँछ । रक्सि पिएर रिक्सा अगाडि बढाउँछ । मातेको रिक्सावालाको बाटोमा पानीपुरी बेचिरहेको व्यक्तिसँग अनाहकमै झगडा पर्छ र रिक्सावालाले उक्त व्यक्तिको हत्या गर्छ ।

‘नोइज द रिक्सावाला’ नामको छोटो चलचित्र पूरा कथा हो यो । एकजना व्यक्तिको रिसले गर्दा परस्पर व्यक्तिमा सरेको कथा मज्जाले उनिएको छ चलचित्रमा । मुन्ना लोहार, स्तुति अग्रवाल, दिनेश सहदेव, आरके चड्ड, अनुराधा पण्डितले अभिनय गरेको चलचित्रलाई सन्ध्या रामले लेखन र निर्देशन गरेका हुन् ।