February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

गीतसंगीतले आ–आफ्नो क्षेत्रको मौलिकता बोकेको हुन्छ: जीवन शर्मा

1.8K

नेपाल उर्वरा फाउन्डेनस सम्मान–२०७९ द्धारा सम्मानित १४ जनामध्ये एक हुन् सिक्किमका गायक जीवन शर्मा । उनले ‘आउ हामी प्रेम गरौं’, ‘फूल जस्तै’ लगायत करिब २०/२५ गीत गाइसकेका छन् भने करिब ३०/४० वटा गीतमा संगीत भरेका छन् । ‘एग्रीकल्चरल मार्केटिङ एक्सपर्ट’ शर्मा हाल सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा जेनेरल म्यानेजर छन् । सम्मान ग्रहण गर्न काठमाडौं आइपुगेका शर्मासँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

कुन शिलशिलामा नेपाल आइपुग्नुभो ?
म सानैबाट गीतसंगीतमा लागेको व्यक्ति हुँ, जसको मुल्यांकन गर्दै उर्वरा नेपाल फाउन्डेसनको अध्यक्ष देवकी अभिलाषीजीले तपाइँलाई सम्मान गर्दैछौं भन्नुभयो । सुरुमा त स्वीकार गरिनँ पछि फेरि ‘जुरी’ले नै छनौट गरेको भन्ने खबर पाएपछि सोही शिलशिलामा नेपाल आएको हुँ ।

सुरुमा स्वीकार नगर्नुको कारण ?
नेपाल नेपाली संगीतको धरोहर हो, हामी सानो ठाउँको मान्छेले त्यहाँ गएर सम्मान पाउछ भन्दा अलिकति अफ्ठ्यारो पनि लाग्ला ! अरुलाई नै मौका दिँदा राम्रो हुन्थ्यो कि भन्ने लागेर पनि होला ! वहाँलाई अरुलाई नै सम्मान गर्न सुझाव पनि दिएको थिएँ ।

Advertisement

कसरी आफू पनि सम्मानयोग्य छु भन्ने लाग्यो त ?
आफूलाई योग्य ठान्नुभन्दा पनि सम्पूर्ण जुरीको निर्णय हो भन्नुभएपछि मैले वहाँहरूको निर्णयलाई स्वीकार गर्दै नेपाल आएँ ।

कतिवटा गीत गाइसक्नुभएको छ ?
म सानैदेखि गाउने गर्थें । जब म भारतको धारवाड भन्ने ठाउँमा पढ्न गएँ, त्यो ठाउँलाई संगीतको धरोहर मानिन्छ । त्यहाँ विभिन्न प्रतिस्पर्धामा सहभागी हुन्थें, प्राय म फस्ट हुन्थें । २००१ मा ‘प्रियतमा’ नामक एल्बम निकालेँ । त्यो एल्बमलाई धेरैले रुचाइदिनुभयो । दुरदर्शन केन्द्रहरूले पनि छानेका थिए । अहिलेसम्म करिब २०/२५ वटा गीत गाएको छु, करिब ४०/३० वटा गीतमा संगीत भरेको छु ।

‘नोटिस’ भएका कुनै गीत ?
‘आउ हामी प्रेम गरौं’, ‘फूल जस्तै’ हरू चर्चा पाएका गीतहरू हुन् ।

नेपाल र सिक्किमको गीतसंगीतलाई कसरी तुलना गर्नुहुन्छ ?
संगीतले आ–आफ्नो क्षेत्रको मौलिकता बोकेको हुन्छ, सिक्किममा भारतीय संगीतको प्रभाव अवश्य हुन्छ । नेपालको आफ्नो मौलिकता छ, नेपाली गीतसंगीतका लागि नेपाल ठूलो ठाउँ पनि हो ।

नेपाली गीतसंगीतप्रति सिक्किमको दृष्टिकोण कस्तो रहन्छ ?
जब नेपाली गीतसंगीतको कुरा आउछ, हाम्रो आधारै नेपाल हो । आधारै नेपाल रहेपछि दृष्टिकोणको कुरै आएन ।

प्रायः सिक्किम दार्जीलिङतिर नेपालका कलाकारहरूलाई लगेर कार्यक्रम आयोजना गर्ने, सम्मान गर्ने गरिन्छ । त्यसरी नै नेपालले पनि सिक्किमको कलाकारलाई गर्ने गर्छ ?
अरुका बारेमा त म त्यत्ति जानकार छुइनँ, तर मलाई त गरिरहनुभएको छ । २०१७ मा पनि नेपालमा मेरो ‘एकल साँझ’ राखिएको थियो । नेपाल आउँदा नेपालका बरिस्ठ गायक तथा संगीतकारहरूले इज्जत गर्नुहुन्छ । मलाई लाग्छ–कला र संगीतमा एउटा आस्था, भरोसा र मित्रता हुन्छ । सिक्किमको गायक संगीतकार र नेपालको गायक संगीतकार अटोमेटिकल्ली मित्र बन्छन् ।

गायब बाहेकको व्यवसाय के छ ?
गायन त सानो पाटो हो, व्यवसायीक हिसाबले म एग्रीकल्चरल मार्केटिङ एक्सपर्ट हुँ । सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा अहिले जेनेरल म्यानेजरको पदमा कार्यरत छु ।

तपाइँ नेपाल आइरहनुहुन्छ, कार्यक्रमको आयोजना गरिन्छ, सम्मानित बन्नुहुन्छ, सिक्किमको कलाकारलाई यहाँको सन्देश के छ ? साथै सिक्किनको तर्फबाट नेपालका कलाकारलाई यहाँको सन्देश के छ ?
कला र साहित्य संगीतको लागि सिक्किम पनि राम्रो जगा हो । त्यहाँको सरकार सक्षम छ, र यश क्षेत्रमा सरकारको तर्फबाट सहयोग पनि रहन्छ । सिक्किममा राम्रा र सक्षम कलाकारहरू छन् । वहाँहरूलाई आफ्नो कला र क्षमतालाई सिक्किममा सिमित नराखी त्यसको मूल्याकंन गर्न सकिने ठाउँसम्म पु¥याउनोस् भन्न चाहान्छु । नेपाली कलाकारप्रति भन्नू त केही छैन, तैपनि मेरो आग्रह के छ भने सिक्किमबाट आएका कलाकारहरूलाई माया र सपोर्ट गर्नोस् भन्न चाहन्छु ।

नेपालमा हुने रियालिटी शोहरूमा सहभागी भएर फर्किएका कलाकारहरूले कस्तो सम्मान पाउने गर्छन् ?
वहाँहरूको एकदमै इज्जत हुन्छ, प्रशंसा हुन्छ । प्रसिद्ध बन्नुहुन्छ । तर कलामा प्रसिद्धि कमाउनु मात्रै ठूलो कुरा हैन, यी साधना हुन् । मेरो विचारमा यति धेरै ’पपुलारिटी’ कमाएपछि अझैं कला र क्षमतालाई निखारेर स्थापित कलाकार बन्नुपर्छ भन्ने लाग्छ ।

त्यसरी स्थापित बन्नुभएको कलाकार हुनुन्छ ?
हुनुहुन्छ, तर कहिलेकाहीँ आफूमा भएको क्षताले घमण्ड सिर्जना गराउछ, त्यसले फेरि कला र साहित्यलाई मारेर छोड्छ ।

विभिन्न विकसित देशहरूको भ्रमण गर्नुभएको छ, त्यहाँका सिस्टमलाई बुझ्नुभएको छ, नेपाललाई चाहिँ कसरी चिन्नुभएको छ ?
म ‘कन्फ्युज’ छु विश्वको कति ठाउँ पुगेँ, हेरेँ । कुनै ठाउँ बगरै बगर छ, कुनै जगामा माटै छैन, कतै पानी छैन, खोलानाला छैन ती देश सम्पन्न छन् । जुन देश प्राकृतिक रुपमै सम्पन्न छ त्यो देशको अवस्था अलिक कमजोर हुनु सहि दिशानिर्देश र व्यावस्थापन नहुनु होकि भन्ने लाग्छ ।

अन्त्यमा नेपाली र सिक्किमका नागरिकबीच भावनात्मक सम्बन्ध रहेता पनि राष्ट्रियता फरक छ, कहिलेकाही भारतले नेपालाई हेपाह प्रवृत्तिको हर्कत गर्छ, नाकाबन्दी गर्छ यस्तो अवस्थामा तपाइहरूको अभिव्यक्ति कस्तो रहन्छ ?
हामी नेपाली मुलकै जाती हौं । यसको मत्लब नेपालका हौं भन्ने चाहिँ हैन । अतिक्रमणको समयमा भू–भागसँगै हामी भारत गएका हौं । त्यसैले भौगोलिक र राजनीतिक हिसाबले हामी भारतवासी सिक्किमे हौं । तैपनि हाम्रो भावना नेपालसँग जोडिएको हुँदा यस्तो परिस्थिति आउँदा हाम्रो एउटै चाहाना हुन्छ– साम्य होस् ।