November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सङ्गीतकार रोशन वान्तवा राईलाई ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड

2.1K

काठमाडौं । सङ्गीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गरेका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण भएको थियो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिएका थिए ।

पत्रकारले सोधेको प्रश्नमा उहाँले अनलाइन प्रक्रियामार्फत आफू सो अवार्डको प्रक्रियामा सामेल भएको र प्राप्त गर्न सफल भएको बताएका थिए । उनले यस अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दाबी गरे ।

यसरी अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै अतिथिहरूले उनलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ कलाकार उत्तम केसीले रोशनले आफ्नोसँगै देशकै नाम रोशन गरेको बताउँदै उहाँले गीत सङ्गीतमार्फत गरेका कार्यको प्रशंसा गरे । ‘एउटा नेपाली सर्जकले अन्तर्राष्ट्रियस्तरमा आफ्ना सिर्जनामार्फत देशकै गौरव बढाउनु हामी सबैका लागि विशेष गौरवको कुरा हो, यस्ता कार्यले उहाँको मात्र नभएर देशकै मान सम्मान बढाउने गर्दछ’, उनले भने ।

Advertisement

यस्तै, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीत सङ्गीतमार्फत कुनै एक नेपालीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गर्नुभनेको सम्पूर्ण नेपाली सङ्गीतकारलाई गौरवको विषय भएको भन्दै यसले गीत सङ्गीतमा लाग्ने सबै स्रष्ट्राको मान सम्मान बढाएको जिकिर गरे । उनले भने, ‘रोशनजीका कार्यले गीतसङ्गीत क्षेत्रमा लाग्ने सबै स्रष्टालाई गौरवान्ति तुल्याएको छ, उहाँ यसका लागि बधाईका पात्र हुनुहुन्छ, नेपाली गीतसङ्गीत क्षेत्र अन्तर्राष्ट्रियस्तरमा सम्मानित हुनु आफैँमा धेरै ठूलो उपलब्धि हो ।’

त्यसैगरी प्रमुख अतिथि विशिष्ट गायिका राणाले नेपाली गीतसङ्गीत अब्बल रहेको र नेपाली स्रष्टा पनि विश्वमा अन्य स्रष्टाभन्दा कम नभएको रोशनका कार्यले पुष्टि गरेको बताइन् । उनले भनिन्, ‘रोशनजीले नेपाली गीतसङ्गीतको रोशन गर्ने जुन कार्य गर्नुभयो त्यो आफैंमा अति प्रशंसनीय कार्य हो, यस्ता कार्यले अन्य स्रष्टामा थप उत्साह थप्ने कार्य गर्दछ’, उहाँले अगाडि भन्नुभयो, रोशनजीका कार्यको यस अवार्डले कदर गरेको छ, यसका लागि उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’ सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पाँचथरको मिक्लाजुङ–५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।

उनका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । सङ्गीत विद्यालय खोलेर गति सङ्गीतको श्रीवृद्धिमा निरन्तर लागिरहेका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिएका थिए ।
तस्बिर: सुरेन्द्र थापा ।