काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत÷एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र सङ्गीतकार राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
उपस्थित सबै अतिथिहरुले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिएका थिए । ‘तीज गीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको हो कि भन्ने पाइन्छ, गीतहरू सुन्दा । तर, यस्ता गीतले यसको मौलिकता बचाइ राख्दछन् ।’, प्रमुख अतिथि राणाले भनिन् ।
सो अवसरमा गीतसंगीतसँग सम्बन्धितहरूलाई प्रशंसा पत्र अर्पण गरिएको थियो ।
सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफ रहेको छ । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।
यस्तै, भिडियोमा नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ भने भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिरको रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन् । यस्तै उनका अन्य गीत पनि श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।