May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

म कुनैदिन ‘चोत्लुङ पार्क’ पुगेरै छाड्छु: राजेश पायल राई

2.5K

काठमाडौं । चर्चित गीत ‘चोत्लुङ पार्क’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई आज ललितपुरस्तिथ युङ्चाहिममा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो ।

‘चोत्लुङ पार्क’ गीत तथा म्युजिक भिडियोबारे बोल्दै कार्यक्रमका प्रमुख अतिथि राजेश पायल राईले गीत साह्रै मिठो भएको र विशेष गीतको संगीत पक्ष अझैं उत्कृष्ट लागेको बताए । उनले भिडियो हेरेपछि एकपटक तेह्रथुमको चोत्लुङ पार्क जसरी पुग्ने बाचा गरेको पनि बताए । ‘प्राय मन्दिरहरुमा जान्छु नभन्नु रे, भनेपछि पुग्नैपर्छ रे भन्छन् ! यस चोत्लुङ पार्कमा चाहिँ जान्छु भनेपछि जानैपर्छ कि पर्दैन मलाई थाहा छैन, तर मनभित्र एउटा बाचा गरेँ कि म यो ठाउँ पुगेरै छाड्छु ।’, राईले भने ।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राजेश पायल राई ।

त्यस्तै, कार्यक्रमका अर्का अतिथि गायक भगत सुब्बाले भिडियोको मोडल त्रिभुवन लुम्फुङ्वासँगको सहकार्य लामो भएको बताए । समाजसेवी उनलाई समयले गीतसंगीततर्फ तानेको पनि बताए । सुब्बाले भने, ‘२०५५/५६ सालतिर गाउँमा फौदरी खेल्ने मान्छे म गायक बनेँ । पहाडमा छेलो हान्ने मान्छे काठमाडौंमा गितार बजाउने भएँ । त्रिभुवन पनि समाजसेवी र संघसंस्थामा आवद्ध मान्छे हुन्, समयले उनलाई यस क्षेत्रमा प्रवेश गराएको छ ।’ लामो समयदेखि हङकङमा व्यावसाय संचालन गर्दै आएका लुम्फुङ्वाको किरात याक्थुङ चुम्लुङमा ठूलो योगदान रहेको बताए । चुम्लुङको परिकल्पनाकार लुम्फुङ्वा नै भएको उल्लेख गर्दै बाँकी यस्तै गीतहरुमा लगानी गर्न सुब्बाले सुझाएका थिए ।

Advertisement

बोल्ने क्रममा भगत सुब्बाले कुनै समय नुन बोकेर हिँड्दा देखिएको त्यो नाङ्गो डाँडाँ आज चोत्लुङ पार्कको रुपमा देख्न पाउँदा अत्यन्तै खुशी लागेको बताउदै उक्त चोकको निर्माण गर्ने लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङलाई धन्यवाद दिए ।

भिडियो विमोचन कार्यक्रममा बोल्दै अग्रज गायक भगत सुब्बा ।

भिडियोका मोडल त्रिभुवन लुम्फुङ्वाले यो आफ्नो पहिलो म्युजिक भिडियो भएको र आफू व्यावसायिक कलाकार नभएर मनोरञ्जनको रुपमा मात्रै प्रस्तुत भएको बताए । भिडियो कस्तो भन्नेमा आफै अनविज्ञ रहेको र यसबारे दर्शकको सुझावको आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, बोल्ने क्रममा कलाकार तथा मुन्धुमविद यासेली योङ्हाङले आफू र आफू सम्वद्ध संस्था किरात याक्थुङ चुम्लुङको तर्फबाट उक्त भिडियोका लागि शुभकामना व्यक्त गरेका थिए । ‘चोत्लुङ पार्क’ भिडियो निर्माण समुहको काम विगतमा पनि नियाँलेको हुँदा यस भिडियोप्रति कुनै शंका नरहेको उनको भनाइ थियो ।

विमोचन कार्यक्रममा अन्य अतिथिहरु चलचित्र विकास वोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिका अध्यक्ष साथै याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, प्रथम नेपाली तारा दिपक लिम्बु, निर्देशक तथा छाँयाकार भुपेन्द्र तुम्बाहाम्फे, निर्देशक किरण चाम्लिङ लगायत रहेका थिए ।

साहित्यकार दिलदुखी जन्तरेको शब्द रहेको ‘चोत्लुङ पार्क’ बोलको गीतमा सुनिता संयक र पेपराज माबुहाङको आवाज रहेको छ भने संगीत सुुसुवेन संजय तुम्बाहाङ्फेको रहेको छ । त्यस्तै, गीतको संयोजन टेकेन्द्र यक्सो र मिक्सिङ राजु कार्कीले गरेका छन् । यस गीतले भिडियो निर्माण हुनु अघि नै लाखौं स्रोतहरुको मन जितिसकेको थियो ।

शेरबहादुर लक्सम्बा, हिम सिंगक, पृथ्वि इङ्नाम र रेजिन साँवाको निर्माणको बनेको सो गीतको भिडियोलाई तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकास्तिथ चोत्लुङ पार्कमा छायांकन गरिएको छ । भिडयोमा सोना लिम्बु, त्रिभुवन लुम्फुङ्वा, विष्णु मोक्तान र संगीता लावतीको मुख्य अभिनय रहेको छ भने टिआर सेनेहाङ, रवि किरण मादेन, फिपराज थुलुङ राई, रितुराज राई, दलमान माबुहाङ, दुर्गा लिम्बु र पुष्पा लिम्बुले पनि अभिनयमा साथ दिएका छन् । यसैगरी भिडियोमा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन तथा निर्देशन, दिनेश माङ्मुको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको छ ।

प्रमुख अतिथि राजेश पायल राईद्धारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको उक्त विमोचन कार्यक्रमलाई विश्व लिम्बुले संचालन गरेका थिए । ‘चोत्लुङ पार्क’ म्युजिक भिडियो सुनिता सङ्यकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।