April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

२८ वर्षमा प्रवेश गर्दै अनमोल केसी

300

काठमाडौँ – नायक अनमोल केसी २८ वर्षका भए। २०५० साल चैतमा जन्मिएका अनमोललाई शुभचिन्तकबाट जन्मदिनको शुभकामनाको ओइरो लागिरहेको छ। उनका बाबु भुवन केसीले त जति नै वर्ष बढेपनि ‘मेरो लागि अनमोल सधैं उही बच्चा केटो (बेबी ब्वाइ) हो’ भनेर सामाजिक सञ्जालमा लेखेका छन्। 

सानै उमेरदेखि फिल्म क्षेत्रमा लागेका अनमोलको लाखौं युवा फ्यान छन्। उनको फिल्म हलमा चल्दा स्कुल-कलेज बंक गरेर फिल्महल पुग्छन् उनीहरू।  होष्टेल फिल्मबाट फिल्मी दुनियाँमा डेब्यू गरेका अनमोल पहिलो फिल्मबाटै युवामाझ छाए।  होष्टेलपछि जेरी फिल्ममा पनि उनको अभिनय युवाले मन पराए। ड्रिम्स फिल्मको सफलतापछि भने उनको फिल्मले व्यावसायिक हिसाबमा कम सफलता हात पार्न थाल्यो।

गाजलु, कृ, क्यापटेन, ए मेरो हजुर-३ फिल्मले चर्चा जति बटुल्यो, व्यावसायिक सफलता त्यही मात्रामा हात पार्न सकेन। यी फिल्ममा अनमोलको अभिनयलाई पनि दर्शकले ठिकैको घेरामा राखे।

उस्तै अभिनय भएको आरोप लाग्न थालेपछि उनले फरकपनाका लागि कृ र क्यापटेनमा अभिनय गरे। ‘कृ’मा उनले शारिरीक रुपमा निकै मिहेनत गरे। पोष्टरमा देखिएको उनको रिसाएको अनुहार फिल्ममा भने देख्न सकिएन। यसले उनका फ्यानलाई केही हदसम्म भड्कायो।

त्यस्तै, क्यापटेनमा पनि उनले नयाँ कामका लागि मिहेनत गरे। तर, कमजोर भिएफएक्स र उनको कमजोर अभिनयका कारण फिल्मले हलमा दर्शकको चित्त दुखायो। 

ए मेरो हजुर-३ मा फेरि पहिलेकै लभर ब्वाइको छबी देखेर दर्शक केही मात्रामा हल गए। उनी अहिले ए मेरो हजुर-४ को छायांकन सक्काएर बसेका छन्।अनमोलले अहिलेसम्म ७ ओटा फिल्ममा काम गरेका छन्। ६ ओटालाई दर्शकले हेरिसके, ए मेरो हजुर-४ कोभिड-१९ को प्रभावले फिल्म नसरे भदौमा हेर्न पाइनेछ।