April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

कोरियामा कार्यरत ६२ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो

2.2K

सिओल- कोरिया सरकारले यहाँ कार्यरत भिसा समाप्त हुने चरणमा पुगेका  ई-९ र एच -२ भिसाधारी ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्ष भिसा थप गरिदिने निर्णय गरेको छ।

कोरिया आउने सम्पूर्ण चरण पार गरेका १६ देशका नयाँ कामदार ल्याउन कोरोना महामारीका कारण अवरोध भएपछि सम्भावित श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय आएको यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानकारी दिएको छ।

यहाँको सरकारले आप्रवासी श्रमिक कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन कठिनाइ भएको र नयाँ श्रमिक ल्याउनसमेत समस्या भएको भन्दै पुरानै श्रमिकको भिसा बढीमा एक वर्ष थप गर्नेगरी कानुन पारित गरेको थियो। उक्त कानुन अप्रिल १३ अर्थात् मंगलबारबाट लागू भएको छ।

Advertisement

यो नियम लागू भएसँगै अब सन् २०२१ को डिसेम्बर ३१ सम्ममा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमिमको भिसा स्वत: एक वर्ष थप हुने युनियनका अध्यक्ष उदय राईले जानकारी दिए।

तीन वर्ष पुगेर भिसा थप गर्नुपर्ने श्रमिकको हकमा रोजगारदाताले बोनस भिसाको रुपमा थप गरिदिने एक वर्ष १० महिनाको थप भिसा हाल थपिने एक वर्षे भिसामा समावेश नहुने राईको भनाइ छ।

अब  ३९ हजार २७२ श्रमिकले कूल पाँच वर्ष १० महिनासम्म कोरियामा बस्‍न पाउने सुविधा पाएका छन्। उक्त भिसाको सुविधा कम्पनी परिवर्तनको चरणमा रहेर काम खोजीरहेका श्रमिकमा पनि लागू हुने बताइएको छ।

उक्त कानुन लागू भएसँगै भिसा समाप्त भई स्वदेश फर्किने तयारीमा रहेका २२ हजार ९६७ श्रमिकले थप एक वर्ष कोरियामै वैधानिकरुपमा बस्‍ने अनुमति पाएका छन्। त्यस्तै तीन वर्ष पूरा गरी एक वर्ष १० महिनाको बोनस भिसा थप गर्न पाउने श्रमिकले अब थप एक वर्ष गरी दुई वर्ष वर्ष १० महिना गरी पाँच वर्ष १० महिना कोरियामै वैधानिकरुपमा बस्‍न पाउने छन्।