काभ्रेपलान्चोक । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विध्यालयलाई बस हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बिद्यालयलाई बस हस्तान्तरण गरेका हुन् ।
बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्वमन्त्री लम्सालले प्रदेश सरकारको बिद्यालय बस बितरण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरी आफूहरू बस ल्याउन सफल भएको बताएका थिए । विद्यार्थीको सुविधाका लागि बस किनिएको हुँदा सही सदुपयोग हुने र बस सेवाको कारणले विद्यार्थीको संख्या बढ्ने अपेक्षा राखेको बताए ।
मन्त्री लम्सालले विद्यालय राम्रो बनाउन स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र बिद्यार्थी सबै लाग्नु पर्ने भन्दै अब युवा देशमा टिकाउन व्यवहारिक शिक्षा आवश्यक रहेको जिकिर गरे ।
‘बिद्यालयको परिवर्तन भनेको समाजको परिवर्तन हो । कुनै ठाउँको समाजको सभ्यता त्यहाँ भएको बिद्यालयले देखाउने हुँदा सबै भन्दा पहिला विद्यालय राम्रो बनाउनु जरुरी छ’, उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धितालले विद्यालय सुधारमा सबैजनाको सहयोग आवश्यक रहेको र आगामी दिनमा विद्यालयलाई बनाउने भन्दै बस दीर्घकाल सम्म चल्ने बिश्वास व्यक्त गर्दै अभिभावकलाई निराश नहुन आग्रह गरे ।
पाँचखाल नगरपालिका उपमेयर सूर्यमाया दनुवारले बस सन्चालनमा आउनु खुशीको कुरा भएको बताउदै यो खुशी निरन्तर हुनको लागि बस राम्रोसँग चल्नु पर्नेमा जोड दिईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धितालको अध्यक्षतामा सम्पन्न बस हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला, जोरपाटी मा. वि. का प्र.अ. विष्णु सापकोटा, शिक्षक, विद्यार्थी , अभिभावकको उपस्थिति रहेको थियो ।