काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाको दरखास्त परेको छ । खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएकोमा त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसालसहित ४३ जनाले आवेदन दिएका हुन् ।
विभिन्न विश्वविद्यालयका उपकुलपति भइसकेकाहरूले पनि त्रिवि उपकुलपतिका लागि आवेदन दिएका छन्।
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, त्रिविकै पूर्वउपकुलपति तीर्थ खनियाँ, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले त्रिवि उपकुलपतिका लागि आवेदन दिएका छन् ।
यस्तै चन्द्रमणि पौडेल, कुसुम शाक्य, गुणनिधि न्यौपाने, भीमसेन देवकोटा, कृष्णराज तिवारी, चित्रबहादुर बुढाथोकी, इन्द्र कार्की, महानन्द चालिसे, त्रिरत्न बज्राचार्य, केदारनाथ घिमिरे, राजकुमार पोखरेल, गोविन्द सुवेदी, संगीता रायमाझी, टंकनाथ धमला, प्रकाश घिमिरे, भोजराज अर्याल र एकराज ओझाले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्।
साथै बालमुकुन्द रेग्मी, देव खड्का, अक्कलदेव मिश्र, प्रमोदकुमार झा, आनन्दबल्लभ जोशी, सञ्जय आचार्य, नारायणप्रसाद बेल्वासे, ऋदीशकुमार पोखरेल, ज्ञानेन्द्र पौड्याल, विनयकुमार झा, सूर्य थापा, बेदनाथ शर्मा, शुभनारायण पाठक, हेमराज पन्त, रामचन्द्र बस्नेत, विनोद पराजुली, महेन्द्र शर्मा, रामप्रसाद रेग्मी, नारायण पाठक र प्रकाश घिमिरेले त्रिवि उपकुलपतिमा आवेदन दिएका छन् ।
उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गते प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोकेका थिए।
त्रिवि ऐन २०४९ को दफा २१ को (ख) अनुसार दैनिक कार्यसञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ। यो तीन महिना माघ १७ गते सकिँदैछ। त्यसअघि नै उपकुलपति नियुक्ति गर्ने तयारी छ।
उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो।
पुस २० गते उपकुलपति माग गर्दै पहिलो पटक विज्ञापन गरिएको थियो। उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रो पटक विज्ञापन गरिएको थियो।
उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति पनि बनेको छ। यही समितिले उपकुलपति माग गर्दै आवेदन आह्वान गरेको थियो। आवेदन दिन १५ दिनको समय दिइएको थियो।