January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

कक्षा १२ को नतिजा दश दिनभित्र

1.2K

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहीबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन गर्न अझै कम्तीमा एक साता लाग्ने बताउँदै भन्नुभयो, “विद्यालयहरुले हामीले दिएको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो । अबको १० दिनभित्र नतिजा सार्वजनिक भइसक्नेछ ।”


उहाँका अनुसार विवरण ‘इन्ट्री’ गर्ने कार्य सकिएको छ । उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ । उहाँले विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाएको र त्यसले गर्दा नतिजा समयमा प्रकाशन गर्न ढिला भइरहेको बताउँदै थप्नुभयो, “विद्यालयहरुले जथाभावीरुपमा मार्क इन्ट्री गरेर पठाएका छन् । भद्रगोल बनाएर पठाएका छन् । केन्द्राध्यक्षलाई हामीले कसरी विवरण पठाउने भनेर तालिम पनि दिएका थियौँ तर उनीहरुमा ‘कमनसेन्स’ पनि देखिएन । मनपर्दी किसिमले उत्तरपुस्तिका पठाएका छन् । हातैले मार्क इन्ट्री गरेर पठाएका छन् ।”

Advertisement

कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अङ्क कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा गणना गरिनेछ । कक्षा १२ मा करिव चार लाख ३१ हजार परीक्षार्थी परीक्षामा सम्मिलित थिए । कोभिडका कारण विद्यार्थीको पायक पर्ने विद्यालयलाई नै परीक्षा केन्द्र बनाइएकाले देशभरि चार हजार १०५ परीक्षा केन्द्र कायम गरिएको थियो ।