काठमाडौं । शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरिएको छ । आदिवासी जनजातिलगायत जातीय संस्थाहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै विधेयकमा मागहरू समावेश गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा शिक्षाको धारमा ‘आदिवासी ज्ञान शिक्षाको धार’ पनि थप गर्न माग गरिएको छ । संसद्मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । परम्परागत धारमा व्यवहारमा अध्ययन÷अध्यापन भइरहेको ‘मुन्धुम÷मुन्दुम÷मुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ ।
शिक्षकले पाउने चाडपर्व खर्च आ–आफ्ना चाडपर्वमा लिन पाउने व्यवस्था गर्न भनिएको छ ।
संस्थाहरुले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरुलाई आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरुको माग छ ।